मधेसको नाममा को-को १७ भाइले गरे फ्लोरक्रस ?

मधेसको नाममा को-को १७ भाइले गरे फ्लोरक्रस ?

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मधेश प्रदेश’ नामसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतबाट पारित गरेको हो । प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभाको बैठकमा मतदान भएको थियो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रस्ताव गरेको मधेश प्रदेशको पक्षमा दुई तिहाइ मत परेपछि सोही नाम पारित भएको हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । जसमध्ये ८० सदस्यले मधेश प्रदेशको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर,मधेस प्रदेशको प्रस्तावको पक्षमा रहेका जसपा,माओवादी केन्द्र र लोसपासँग दुई तिहाइ थिएन । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना प्रदेशसभा सदस्यले मात्रै प्रस्तावको पक्षमा मतदान गर्दा नाम पारित हुने अवस्था थिएन ।

कांग्रेस,एमाले र एकीकृत समाजवादी मधेस प्रदेश नाम राख्ने पक्षमा थिएनन् । कांग्रेसले ‘मिथिला-भोजपुरा’ नाम प्रस्ताव गरेको थियो भने शुरुमा ‘जनक’ नाम प्रस्ताव गरेको एमालेले पछि एकीकृत समाजवादीको ‘जानकी’ प्रस्तावलाई समर्थन गरेको थियो ।

तर,आजको मतदानमा मधेश नामको विपक्षमा रहेका ती दलका १७ सांसदले मतदान गरेपछि प्रस्ताव पारित भएको हो । गोप्य मतदान भएकाले कुन कुन दलका कुन सांसदले फ्लोर क्रस गरे भन्ने खुलेको छैन ।

टिप्पणीहरू