छोरी, बुहारीको अकाल मृत्यु जारी छ

छोरी, बुहारीको अकाल मृत्यु जारी छ

नेपालमा धेरै थरिका महिला हिंसा हुने गरेको छ । त्यसमध्ये घरेलुहिंसा पनि एक हो । यो सबैभन्दा धेरै हुने गरेको छ तर पनि सबैभन्दा कम देखिन्छ र सुनिन्छ । भयानक समस्याको रुपमा घरेलुहिंसा संसारभर देखिए पनि लाज र त्रासका कारण पीडितहरु बोल्न डराउँछन् । त्यसैले यो अधिकांशको घरभित्रै गुपचुप तथा अदृश्य रहने गरेको छ ।

घरेलु हिंसा सबैभन्दा धेरै निकटका मान्छेबाट हुने गरेको तथ्य निस्किएको छ । धेरैजसोले शारीरिक हिंसालाई मात्र मुख्य रुपमा घरेलु हिंसासँग जोड्ने गरेका छन् । तर वास्तवमा,घरेलु हिंसाभित्र धेरै प्रकारका दुर्व्यवहारहरू समावेश हुन्छन् । यसको परिभाषा र गाम्भीर्यतामा भिन्नता देखिए पनि सबैजसो समान खालका खतरनाक नै देखिएका छन् ।

केही महिलाले आफूमाथि भएको घरेलुहिंसाको बारेमा समेत पत्तो नपाएको खबर बाहिरिएका छन् । घरेलुहिंसा भित्र शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार तथा मौखिक र यौन दुर्व्यवहार पर्ने गरे पनि धेरैमा शारीरिक दुर्व्यवहारलाई मात्र हिंसा मान्ने मान्यता छ ।

पछिल्लो समयलाई आधार मान्दा यो वर्षको बैशाखदेखि धेरै महिला घरेलुहिंसाको शिकार भएका विभिन्न समाचार बाहिर आउन थालेका हुन् । परिवारबाट भावनात्मक तथा मौखिक दुर्व्यवहार खेपिरहेका सबिता भण्डारी,सीता भण्डारी,अनिता रेग्मी,दिव्या उप्रेतीलगायत धेरै विवाहित महिलाले आत्महत्या गरेको खबर बाहिर आयो ।

चितवनकी सविता भण्डारीबाट शुरु भएको आत्महत्याको घटना अहिले छ महिनापछाडि नौ महिनाकी गर्भवती रहेकी झापाकी दिव्या उप्रेतीसम्म पुगेको छ । अनाहकमा ज्यान फालेका ती महिलाहरु सबैको आत्महत्याको कारण भने समान देखिन्छ- दाइजो नल्याउनु तथा नरुचाइएकी बुहारी हुनु ।

यसमा पतिलगायत घरपक्षका मात्र नभई माइतीपक्षका पनि दोषी देखिएका छन् । उनीहरुले छोरीलाई घरमा दुर्व्यवहार भएको थाहा हुँदा हुँदै पनि इज्जत जाने डरले घर जान दबाब दिने गरेका छन् । पढाइ लेखाइ आफ्नो खुट्टामा उभिएकी छोरीले आफ्नो ज्यान पाल्न कुनै पुरुषको आवश्यक्ता पर्दैन । ऊ आफै सक्षम छे भन्ने कुराले आमाबुबाको मस्तिष्कमा ठाउँ नपाउँदा पनि धेरै छोरी यस्ता घट्ना सहन बाध्य बनेका छन् ।

दुई छोरीको आमा बनिसकेकी उनलाई परिवारले शौचालयमा थुन्न तथा यातना दिन थालेपछि जसोतसो घरबाट भागेर ज्यान जोगाएकी हुन् । तर इज्जत जाने डरले प्रहरीकोमा गएर उजुर गर्न सकिनन् ।

मरेपछि त धेरै घटना बाहिर आउने गरेका छन् । तर अधिकांश महिलाले माइतीको इज्जत सम्झेर र हेंला हुनबाट बच्न घरेलुहिंसा सहेर बस्ने गरेको घटनाक्रमले पुष्टि गरेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ मा १ हजार ८ सय ८८ महिलाले झुण्डिएर मात्रै आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्म ७ हजार ३ सय २४ महिलाले आत्महत्या गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा १४ हजार २ सय ३२ जना महिला घरेलु हिंसाको सिकार बनेका थिए । जसमा धेरैजसो प्रदेश २ मा देखिएको छ । त्यहाँ गत आर्थिक वर्षमा ३ हजार ५ सय ५६ जना यसको सिकार बनेका थिए ।

आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ३ सय ३२ जना महिला घरेलुहिंसाको शिकार बनेका छन् । त्यसमा पनि धेरै प्रदेश २ मा देखिएको छ । जहाँ १ हजार ९ सय ९६ जना यसको सिकार बनेका छन् ।

काठमाडौं जिल्ला अदालतमा गत पुस १५ गतेसम्म ४४ वटा घरेलुहिंसाका मुद्दा दर्ता भएका छन् । अदालतमा विचाराधीन मुद्दाको संख्या २ सय १० रहेको छ । यी त महिलाले साहस देखाएर बाहिर आएका तथ्याङ्क मात्र हुन् । बाहिर नआएका र गुपचुप राखिएका यस्ता धेरै घटना छन् जुन हत्तपत्त बाहिर आउन सक्दैनन् र आउन पनि दिईंदैन ।

पाल्पाकी सरिता खरेलले भागी विवाह गरेकी हुन् । शुरुमा पति र घर परिवारबाट राम्रै व्यवहार पाएकी उनले पति विदेशीएपछि भने उही तरिकाको व्यवहार पाउन सकिनन् । सासू ससुराबाट मौखिक दुर्व्यवहार भोगेकी उनी पछि शारीरिक दुर्व्यवहार भोग्न बाध्य भइन् ।

पतिले समेत घरपरिवारको कुरा सुनेर विदेशबाटै उनीमाथि मौखिक दुर्व्यवहार गरेर मानसिक तनाव दिन थाले । दुई छोरीको आमा बनिसकेकी उनलाई परिवारले शौचालयमा थुन्न तथा यातना दिन थालेपछि जसोतसो घरबाट भागेर ज्यान जोगाएकी हुन् । तर इज्जत जाने डरले प्रहरीकोमा गएर उजुर गर्न सकिनन् ।

यस्तै दाङकी सुस्मिता सिंहले मागी विवाह गरे पनि घर परिवारबाट सोचे जस्तो व्यवहार पाउन सकिनन् । सानो निहुँमा सासू तथा पतिले शारीरिक यातना दिन थाले । भान्छामा खाना पकाइरहेको बेला पछाडिबाट काठको मुडाले हानेर होस् वा खाइरहेको बेला कपाल लुछेर होस् उनीमाथि धेरै अत्याचार हुन थाल्यो ।

उनी भन्छिन् ‘सुरुमा त राम्रै थियो पछि दाइजोको निहुँमा किचकिच गर्न थाले । म त एक दुई दिन होला भनेर चुपचाप नै बसिरहेँ तर रोकिनु त कुरै छाडौं पूरा कुटपिटमै उत्रिएपछि भाग्न बाध्य भएँ ।’ अहिले उनी सम्बन्ध बिच्छेद गरेर माइती मै बसिरहेकी छन् ।

घरेलुहिंसा समाधानको निम्ति सबैको पहल आवश्यकता पर्छ । तर यसमा कसैको पनि चासो गएको भने देखिदैन । घरेलुहिंसालाई एक सामान्य पारिवारिक मनमुटावको रुपमा लिने गरिँदा पनि महिलाहरु यसको सिकार हुन बाध्य बनेका हुन् । यसबाट बाहिर आउन कसैको सहयोग पाउन सकेका छैनन् ।

टिप्पणीहरू