सितिमिति अस्पताल नजान आग्रह :अढाई सय चिकित्सक संक्रमित,सेवा अवरुध्द

सितिमिति अस्पताल नजान आग्रह :अढाई सय चिकित्सक संक्रमित,सेवा अवरुध्द

दिनहुँ बढिरहेको कोरोना महामारीको असर स्वास्थ्य क्षेत्रका जनशक्तिमा समेत परेको छ । पछिल्लो समय महामारीका कारण ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि हुन थालेको हो ।

मुलुकका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्कर्मीहरुमा संक्रमण देखिन थालेपछि अस्पातालहरुले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गर्न थालेका छन् । सर्वसाधारणलाई सामान्य अवस्थामा अस्पताल नजान भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई सातामा मुलुकभर २ सय २२ जना चिकित्सक संक्रमणको चपेटामा परेका छन् । गत पुस १७ गतेदेखि हालसम्म उक्त संख्यामा डाक्टरहरु संक्रमित भएका हुन् ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीअनुसार पुस १७ गते यता सर्वाधिक गत पुस ३० गते एकैदिन ५६ जना डाक्टरमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ३७ जना चिकित्सकमा संक्रमण फेला परेको छ ।

मन्त्रालयले उपलब्ध गराएको उक्त अवधिको तथ्याङ्कलाई हेर्दा पुस १७ गते एक जना,१८ गते दुई,१९ मा चार,२० मा छ, २१ र २२ मा समान तीन जना, २३ र २४ गते समान दुई तथा २५ गते छ जना चिकित्सकमा संक्रमण फेला परेको छ । त्यसैगरी, २६ पुसमा कोरोना संक्रमित हुने चिकित्सकको संख्या तेब्बरले बढेको देखिन्छ ।

उक्त दिन एकैपटक मुलुकका २४ जना चिकित्सकमा संक्रमण देखा परेको थियो । यस्तै, २७ पुसमा २७, २८ मा २४, २९ मा २७, ३० मा ५६ र माघ १ गते ३७ जना चिकित्सकहरुमा संक्रमण पुष्टि भएको छ ।

राजधानी उपत्यकामा मात्रै ५९ जना चिकित्सकमा संक्रमण देखिँदा कर्मचारी र स्वास्थ्यकर्मी गरि कुल १ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सर्वाधिक १ सय १५ जना चिकित्सक तथा स्वास्यकर्मी संक्रमित भएका छन् ।

वीर अस्पतालमा ४४, पाटनमा २४, सशस्त्र प्रहरी अस्पतालमा १४ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको हो । धमाधम चिकित्सक तथा स्वास्थयकर्मीहरुमा कोरोना देखिन थालेपछि उपत्यकालगायत अन्यत्रका केही अस्पतालले आपतकालीन बाहेकका सेवाहरु ठप्प पारेका छन् ।

उपत्यकाको त्रिवि शिक्षण अस्पतालले पनि मेडिकल आईसीयूका सबै कर्मचारीमा संक्रमण देखा परेपछि उक्त वार्ड बन्द गरेको छ । अस्पातलमा चिकित्सकहरुलाई नै संक्रमण देखिन थालेपछि अत्यावश्यक बाहेकको सेवाका लागि अस्पताल नधाउन आग्रह गरिएको छ ।

उता, उपत्यका बाहिरका बाँकेको भेरी अस्पताल, विराटनगरको कोशी अस्पताललगायतले चिकित्सकहरुमा कोरोना संक्रमण देखिएको बताउँदै सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा आग्रह गरेका छन् ।

टिप्पणीहरू