हतास बनाउन थाल्यो सरकारले बतासलाई

हतास बनाउन थाल्यो सरकारले बतासलाई

बतास समूहले बिना स्वीकृति पशुपतिको धर्मशाला सन्चालन गरेको तथ्य बाहिरिएको छ । पछिल्लो समय विवाद र चर्चामा रहेको बतासले अधिकारप्राप्त निकायको स्वीकृति नै नलिई पशुपति विकास कोषभित्रको धर्मशाला सन्चालन गरेको पाइएको हो ।

नेपाल-भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौतासम्बन्धी छानविन समितिले अधिकारप्राप्त निकायको स्वीकृति नै नलिई धर्मशाला सन्चालन गरिएको तथ्यसहितको प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

धर्मशाला भाडामा लगाउँदा गरेको सम्झौता नियम र प्रचलित कानून बमोजिम भए नभएको सम्बन्धमा अध्ययन गर्न पुस २३ गते गठित छानविन समितिले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रकृया पूरा नगरी सम्झौता गरिएको उल्लेख छ ।

समितिले प्रतिवेदनको निष्कर्ष सार्वजिक गर्दै धर्मशाला लिजमा दिने सम्झौतामा अधिकारप्राप्त निकायको स्वीकृति नलिएको, मिलेमतोमा बोलपत्र आह्वानमा गरिएको,पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा.लि.बीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कोषलाई हानी पुर्याउने गरी गरिएको बताएको छ ।

साथै, कानुनबमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पुयाउने कर्मचारी र अनाधिकृत सम्झौतालाई कानुन सम्मत भएको भनी छापा तथा विद्युतीय माध्यममा समाचार प्रवाह गर्ने कोषका तत्कालिन पदाधिकारीलाई कारवाही गर्न पनि समितिले सुझाव दिएको छ ।

त्यसैगरी,धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको,कोषलाई बुझाउनु पर्ने करिव एक वर्षको भाडा नबुझाएको,धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृतिबेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गरेको पाइएको पनि समितिको निष्कर्ष छ ।

टिप्पणीहरू