सबैका पीडा आफ्नै खालको, ‘फ्रन्टलाइनर’ प्रहरीका बारेमा कसले सोच्ने ?

सबैका पीडा आफ्नै खालको, ‘फ्रन्टलाइनर’ प्रहरीका बारेमा कसले सोच्ने ?

कोरोना महामारीको डरलाग्दो रुप फेरी शुरु हुन थालेको छ । सार्वसाधारण, राजनीतिक दलका नेता, स्वास्थ्यकर्मीलगायतलाई धमाधम कोरोना देखिएको छ । सरकारले कोरोना जोखिमलाई ध्यानमा राखेर भीडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै केही दिनअघि मात्रै निर्देशिका जारी गरेको छ ।

यस्तै स्कुल कलेजहरु पनि माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन् । तर, ‘फ्रन्टलाइनर’ अर्थात अग्रपंक्तिमा खटिएका प्रहरीलाई स्वास्थ्यका दृष्टिले सुरक्षित बनाउने काममा कसैको ध्यान पुगेको देखिँदैन । अप्ठेरोमा समयमा देश र जनताको सुरक्षा दिने ‘फ्रन्टलाइनर’ हरु नै असुरक्षित रहेका गुनासाहरु सुनिन थालेका छन् ।

उनीहरु आफूलाईभन्दा पनि आफूमार्फत आफन्तलाई कोरोना सर्ने त्रासमा बसेका छन् । तर पनि नागरिकलाई सेवा दिने काममा चौबिसै घण्टा खटिरहेका छन् । त्यसैले सरकार र सम्बन्धित निकायले उनीहरुलाई प्रोत्साहन भत्तामार्फत हौसला प्रदान गर्नुपर्ने देखिएको छ । उनीहरुको सुरक्षाका लागि विशेष सुरक्षाका मापदण्डहरु तत्काल कायम गर्नु पर्ने हुन्छ । त्यति भएको अवस्थामा पनि उनीहरुलाई आफ्नो काममा उत्प्रेरित गराउन मद्दत पुग्ने ठानिएको छ ।

कोरोना संक्रमण व्यवस्थापनका लागि बढी जोखिम भएका स्थानमा अझसम्म पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको छैन । सरकारले निर्देशन मात्र जारी गरेर कोरोना नियन्त्रण हुन सक्दैन । त्यसको लागि सार्वजनिक स्थानमा प्रहरी खटाएर मानिसको भीडभाड कम गर्न सकिन्छ भन्ने कुरामा सम्बन्धित निकाय अनभिज्ञ बनेको पाइन्छ ।

के भन्छन् ‘फ्रन्टलाइनर’ सुरक्षाकर्मी ?

केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले सरकारले विशेष निर्देशन नदिएसम्म कोरोना नियन्त्रण र रोकथामका लागि प्रहरी परिचालन नहुने बताएका छन् । उनले महामारीकै लागि भनेर अहिलेसम्म यस्तो कुनै तयारी नरहेको जनआस्थासँगको कुराकानीमा उल्लेख गरे ।

उनले भने ‘हामीले कोरोना रोकथाम र नियन्त्रणको लागि अहिलेसम्म प्रहरी परिचालन गर्ने योजना बनाएका छैनौं, जब सरकारबाट आदेश आउँछ तब मात्रै विशेष सुरक्षाका लागि खटिन्छौँ ।’

प्रहरी आफैंले भने सर्वसाधारणका लागि ‘मास्क खोई’ भन्ने जनचेतनामूलक कार्यक्रम गरिरहेको उनको भनाइ छ । ‘नागरिकहरुको सुरक्षा गरेर आफूलाई सुरक्षित राख्न कठिन हुन्छ, तर के गर्ने काम गनैपर्छ’, उनले भने ।

यस्तै सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दूरी कायम गर्न, ड्युटीको समयमा पनि स्यानिटाइजरको प्रयोग, मास्क प्रयोगलगायत स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन सुरक्षाकर्मीहरुलाई प्रहरी प्रवक्ता केसीको आग्रह छ ।

ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले कोरोना महामारीमा आफूहरुलाई प्रोत्साहनमूलक भत्ता सरकारले नदिएको भन्दै गुनासो पोखेका छन् । उनले भने, ‘हामीलाई जोखिम भत्ता कसले र कहिले पो दियो ? हिजो पनि कसैले दिएन, आज पनि कसैले दिएको छैन, हामीलाई यो एउटा पोशाक दिइएको छ, त्यसैमा खुशी छौं ।’

एउटा सामान्य मास्क लगाएर मात्रै डयुटीमा खटिने गरेको उनको भनाइ छ । उनले भने, ‘अफिसमा केही कर्मचारीलाई रुघा, खोकी र ज्वरो आएको छ, हामीले आफूले गर्नसक्ने जति सुरक्षा मापदण्डहरु अपनाएकै छौं, भौतिक दूरी कायम गर्ने, ड्युटीमा रहेको समयमा स्यानिटाइजरको प्रयोग, मास्क लगाउने जस्ता स्वास्थ्य सुरक्षा गरिरहेका छौं ।’

विशेषगरी प्रहरी संगठन कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसमा पनि अग्र पंक्तिामा रहेकालाई संक्रमण नहुने भन्ने कुरै हुँदैन । संक्रमणको उच्च जोखिम हुँदाहुँदै पनि सुरक्षाको लागि उनीहरु खटिरहेका छन् । ‘यस्तो महामारीमा पनि सबै सवारी चेकजाँच गर्नैपर्यो, सवारी कागजात हेर्नैपर्यो, मापसे चेक गर्दा त झन् उच्चजोखिम हुन्छ नि,’ उनले भने ।

प्रहरी धमाधम संक्रमित

आजसम्म ‘फ्रन्टलाइनर’ प्रहरीमध्ये ९० जना सक्रिय कोरोना संक्रमित छन् । काठमाडौं उपत्यकामा मात्रै ६६ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । प्रदेश १ मा ५ जना, २ मा ८, वागमतीमा ४, गण्डकीमा ४ र सुदूरपश्चिममा ३ जना संक्रमित छन् । यसरी हेर्दा उपत्यकाका सुरक्षाकर्मीहरु बढी जोखिममा परेको देखिन्छ ।

भारत आवतजावत हुने मुख्य नाका रहेको प्रदेश २ मा पनि कोरोनाको जोखिम बढेको छ । तर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका प्रहरीमा भने हालसम्म संक्रमितको संख्या शुन्य छ ।

त्यस्तै महिला सुरक्षाकर्मीको तुलनामा पुरुषहरु बढी संक्रमित हुने गरेका छन् । १३ जना महिलामा संक्रमण हुँदा ७७ जना पुरुष प्रहरीहरु संक्रमित भएका छन् । यसैगरी कोरोनाका कारण ६ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।

कोरोनाको दोस्रो लहरमा रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मीहरु नै बढि जोखिममा परेका थिए । यस्तै प्रदेशभर कार्यरत नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सयौँ सुरक्षाकर्मीले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको थियो । अब यी र यस्ता घटनालाई मध्यनजर गर्दै समयमै कोरोनाबाट बच्न र बचाउन प्रहरीमा सर्तकता अपनाउनेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी देखिएको हो ।

टिप्पणीहरू