नक्कली मोबिलको फन्दामा परिएला

नक्कली मोबिलको फन्दामा परिएला

छिटो र सजिलो तरिकाले पैसा कमाउन ठगीधन्दा चलाउनेहरु धेरै छन् । कतिपयको ठगी धन्दा त सुन्दा पनि आश्चर्य लाग्छ । नक्कली मोबिल बनाएर बेच्ने दुई जनालाई रौतहट प्रहरीले समातेपछि ठगीको अनौठो शैली बाहिर आएको हो ।

त्यस्तो धन्दा चलाउने व्यक्ति हुन्, राजदेवी नगरपालिका-९ का २८ वर्षीय रोशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह । गौर नगरपालिका-५ स्थित बरहवा पुल नजिक उनीहरुले बनाएको दुई सय लिटर नक्कली मोबिलसहित प्रहरीले समातेको हो ।

जय शिवशक्ति अटोमोबाइल पसल सन्चालन गरेका उनीहरुले पसल नजिकै सुधिर साह तेलीको घर भाडामा नक्कली मोबिल बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घर भाडामा लिएर गोदाम सन्चसलन गरी क्यास्ट्रोल, बजाज,हिरोहोण्डा कम्पनीको लोगो प्रयोग,मोबिल तथा मोटरसाईकलका पार्टसहरु भण्डारण र कालो बजारी गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा नक्कली मोबिलसहित अन्य सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार मोबिल भरिएको ३ हजार बट्टा,खुल्ला मोबिल भरी राखेको २ सय लिटरको दुईवटा टिनको ड्रम,मोबिल राख्ने गरेको ९ वटा टिनको खाली ड्रम बरामद भएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

टिप्पणीहरू