राहत सामाग्री बोकेर हिमालयको जहाज काबुल उड्यो

राहत सामाग्री बोकेर हिमालयको जहाज काबुल उड्यो

अफगानिस्तानका नागरिकका लागि राहत सामग्री बोकेर हिमालय एअरलाइन्सको जहाज अफगानिस्तानको राजधानी काबुलतर्फ उडेको छ ।

सरकारको अनुरोधमा अन्दाजी ९.७ टन राहत सामाग्री बोकेको कार्गो जहाज हिजो बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काबुलतर्फ लागेको हो । एअरलाइन्सले विज्ञप्ति जारी गर्दै एअरबस ३१९–११५-यानएजेके बिहान सवा ९ बजे काबुलतर्फ उडेको जानकारी गराएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत यस कार्यले डेढ करोड बराबरको योगदान गरेको एअरलाइन्सको भनाइ छ । जहाजमा औषधि, खाद्यान्न, लत्ता–कपडा, जुत्ता, ब्लाङ्केटलगायतका अत्यावश्यकीय राहत सामाग्रीहरु रहेको बताइएको छ ।

राहत सामाग्रीसहित परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतसहित १५ सदस्सीय टोली कावुल उडेको हो ।

जहाज काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको र त्यहाँ अवस्थित संयुक्त राष्ट्रसंघको सहयोगी निकायको कक्षमा राहत सामाग्री हस्तान्तरण गरेको एअरलाइन्सले जनाएको छ ।

टिप्पणीहरू