महोत्तरीमा दलहरुवीच महाभारत

महोत्तरीमा दलहरुवीच महाभारत

महोत्तरीमा राजनीतिक दलहरूको जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । नेताहरूबीचमा नेतृत्व हात पार्न देखिएको तँछाड मछाडले स्थानीय राजनीति गर्माएको हो ।

नेतृत्व विवादकै कारण संसदका प्रमुख तीन दल एमाले,कांग्रेस र माओवादी केन्द्रले जिल्ला अधिवेशन गर्न सकेका छैनन् । कांग्रेसमा संस्थापन र इतर समूहका चार वटासम्म प्यानल देखिएको छ । एमालेको ६ र ७ माघबाट हुने भनिएको जिल्ला अधिवेशनमा पनि नेतृत्व चयनमा विवाद हुने देखिएको छ ।

२७ पुसमा जिल्ला आयोजक कमिटी सदस्य चयन गर्ने सम्बन्धमा समेत एमालेमा ठूलो विवाद भएको थियो । केन्द्रीय सदस्य सरोज यादव र टेकबहादुर बलम्पाकी सदस्यहरू निर्वाचित गर्ने सम्बन्धमा एकातिर उभिए भने पोलिटब्युरो सदस्य रामदयाल मण्डल र अर्की केन्द्रीय सदस्य बुधिनीदेवी अर्को कित्तामा देखिए ।

थापाले भनिन्- `हामीभित्र त्यति ठूलो विवाद छैन । केही असन्तुष्ट पक्षहरूको चित्त बुझाउन भए पनि जिल्ला अधिवेशन नहुने देखिएको छ ।´

सदस्य निर्वाचित भएको घोषणासहित रामदयाल र बुधिनीदेवीले एक सय ८५ जनालाई सपथग्रहण गराए । उनीहरुले हलभित्र सपथग्रहण गराइरहँदा केन्द्रीय सदस्यद्वय बलम्पाकी र यादव हलबाट निस्केका थिए ।

नेता यादव र बलम्पाकीले हलबाट बाहिर निस्किँदै गर्दा सञ्चारकर्मीलाई तत्काल फोन गरेर आयोजक कमिटीले निर्वाचन प्रक्रिया स्थगित गरेकाे घोषणा गरे । त्यसकाे केही समयमै बुधिनीदेवीले सञ्चारकर्मीहरूलाई निर्वाचित सदस्यहरूको नामावली पार्टी कार्यालयमा लिन आउन आग्रह गरिन् ।

आन्तरिक कलह भए पनि एमाले सधैं एकढिक्का रहेको र स्थानीय तहको निर्वाचनमा समेत भव्य सहभागिता रहने एमाले प्रदेश कमिटी सदस्य शारदादेवी थापा दाबी गर्छिन् ।

एमालेभित्रको असन्तुष्टि सतहमै छताछुल्ल हुँदा पनि नेताहरू सार्वजनिक गर्न भने चाहँदैनन् । जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यसमेत रहेकी थापाले भनिन्- `हामीभित्र त्यति ठूलो विवाद छैन । केही असन्तुष्ट पक्षहरूको चित्त बुझाउन भए पनि जिल्ला अधिवेशन नहुने देखिएको छ ।´

नेपाली कांग्रेसमा झन् ठूलो विवाद छ । निर्वाचन अधिकृत अपहरण गर्नेदेखि निर्वाचनस्थलमा झडप हुनेसम्मका हर्कतले कांग्रेस टुक्रा-टुक्रामा विभाजित छ । कांग्रेस महोत्तरीका युवा नेता शंकर फुँयाल पार्टीभित्र देखिएको झगडाप्रति चिन्ता व्यक्त गर्दै भन्छन्- `हामीले समाजसेवाका लागि राजनीति गरेका हौं, तर नेताहरूले पार्टीलाई व्यापार बनाए ।´

विधि र विधानविपरीत जिल्ला अधिवेशन तोकेको भन्दै क्षेत्रीय अधिवेशनको मिति निर्धारण गर्न कांग्रेसका बजरंग नेपालीले तीन दिनसम्म भोकहडतालमा बसेपछि क्षेत्रको अधिवेशन ३ माघलाई निर्धारण गरिएको थियो । तर, कहिले हुने भन्ने ठेगान छैन ।

माओवादी केन्द्र पनि आन्तरिक कलहबाट अछुतो छैन । विवादकै कारण पालिकाहरूमा हुनैपर्ने अधिवेशन बाँकी छ । बर्दिबास नगरपालिकाभित्र दुई पक्षमा देखिएको किचलोले संयोजक अझै निर्वाचित हुन सकेको छैन ।

माओवादीमा वैचारिक हिसाबले महोत्तरीमा दुई कित्ता छन् । केन्द्रीय स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य राजु खड्काले आफ्नै उम्मेद्वार र प्यानल बनाइरहेको आरोप-प्रत्यारोप चलेकाे छ । तर, पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनी अन्य पार्टी जसरी चिरा-चिरामा विभाजन नभएको केन्द्रीय सदस्य दिपबहादुर योञ्जनको दाबी छ ।

माओवादी महोत्तरीका संयोजक तुलसी ढुंगानाले अन्य पार्टीको जस्तो किचलो नभएको बताए । प्रदेश कमिटीका लागि महोत्तरीले ३६ जना नेता पाउने भएकाले भागबन्डामा मिल्ने उनकाे भनाइ छ ।

स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलमा देखिएकाे शक्ति संघर्षले सबैकाे ध्यान तानेकाे छ ।

टिप्पणीहरू