किसानहरुको जोड अर्गानिक उत्पादनमा

किसानहरुको जोड अर्गानिक उत्पादनमा

पछिल्लो समय हरेक खाद्यान्न बालीमा रासायनिक मलको प्रयोग बढ्दो छ । रासायनिक मलको प्रयोगपछि धेरै फल्ने, बाली सप्रिने, किरा नलाग्ने विश्वास छ । सोही कारण किसानहरुको रासायनिक मलतर्फ आकर्षण बढेको हो । तर रासायनिक मलको प्रयोग बढ्दा ‘अर्गानिक’ खेती किसानहरु मारमा परेका छन् ।

झापास्थित कमल–२ का कृषक नवराज पौडेलले अर्गानिक तरकारी उत्पादन सुरु गरेको तीन वर्ष भयो । गाउँपालिकाको परामर्शबाट अर्गानिक उत्पादनको महत्व थाहा पाएपछि उनी अर्गानिक उत्पादनमा लागेका हुन् । उनी १३ कठ्ठा जमिनमा तरकारी खेती गर्छन् । काँक्रो, काउली, बन्दा, टमाटर, सागलगायतका तरकारी बाली लगाउँदै आएका छन् । ‘मैले लगाउने सबै तरकारी बाली अर्गानिक नै हुन्छ,’ उनी भन्छन्, ‘बरू नफलोस् तर, अर्गानिक खेती नै गर्छु, अर्गानिक खेती गर्न थालेपछि सन्तुष्ट छु ।’

पहिले रासायनिक मल लगाउँदाको भन्दा उत्पादन केही खस्किएको छ । तर, स्वाद भने आकाश जमिनको फरक छ । अर्गानिक खेती गर्दै आएका नवराजलाई रासायनिक तरकारीसँग बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन छ । आफूले उत्पादन गरेको अर्गानिक तरकारी केर्खा बजारमा लगेर आफैँ बेच्ने गरेका कारण पनि रासायनिक मल हालिएको तरकारीसँग प्रतिस्पर्धाको अनुभव उनीसँग राम्रै छ ।

झापामा अर्गानिक उत्पादनमा फड्को मारेको संस्था दमक–३ को मानसरोवर कृषि सहकारी संस्था हो । उक्त संस्थाले अर्गानिक उत्पादनमा आफ्नो छुट्टै पहिचान बनाएको छ । पछिल्लो समय उपभोक्तामा अर्गानिक उत्पादनप्रति केही आकर्षण बढेको संस्थाका अध्यक्ष विश्वनाथ बरालको अनुभव छ । तर, रासायनिक मल प्रयोग गरिएको उत्पादनसँग प्रतिस्पर्धा गर्न अझै मुस्किल रहेको उनी बताउँछन् ।

‘अहिले अर्गानिक उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने धारणा बलियो हुँदै गएको छ । तर, रासायनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न सबै हिसाबले गाह्रो छ । अर्गानिक मल उत्पादनमा उत्तिकै खर्च हुन्छ । जुन रासायनिकमा हुँदैन,’ उनी भन्छन्, ‘त्यही कारण अर्गानिक उत्पादन केही महँगो पर्न गएको हो ।’

टिप्पणीहरू