जेलिएको जिन्दगी, कहिलेकाहीं खुशी नै बन्धकी

सरल छैन जिन्दगीको रेखा । लाग्छ, जिन्दगी नसोचेको ‘यथार्थ’ हो । सोचेको कुरा नहुने र नपुग्ने अनि नसोचेको कुरा भोग्नुपर्ने । पर्सामा जन्म । एक भाइ र एक दिदी बीचको म । आयस्रोतको अन्य माध्यम केही थिएन । थियो त खेतीपाती । पर्साबाट वीरगञ्ज बसाइ स¥यौं । पिताजीले किराना पसल चलाउँदै हुनुहुन्थ्यो । ०६६ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि ज्ञानबाटिका कलेजमा भर्ना भएँ । प्लस टु पढ्दै गर्दा मोटर पार्ट्सको व्यापार शुरु गरियो पार्टनरसिपमा, १८ वर्षको मात्र थिएँ । ५ लाख लगानीमा काम शुरु गरिएको । यही बीचमा पिताजीलाई सुगर र पेंक्रियाजले सतायो । डाक्टरकहाँ धाइयो । तिनले बाँच्ने अवस्था छैन भन्दै निराश पारे । उपचारका लागि दिल्ली, भेलोरसम्म पुगियो । घरव्यवहार चलाउने जिम्मेवारी काँधमा आइलाग्यो । पार्टनरसिपको सम्बन्ध लामो समयसम्म टिकेन, बीचैमा टुट्यो । 

पाँच लाख लगानीमा डेढ लाख डुबाएर साढे लाख फिर्ता लिई पुनः कम्प्युटर पार्ट्सको व्यवसायमा जोडिएँ । एक जना पाटर्नरसँग सम्बन्ध तोडेर अर्कोसँग जोडिएँ । व्यवसाय राम्रै चल्दै थियो । दुई वर्षपछि पार्टनरले नै छुट्टिन चाह्यो । समय र परिस्थितिले एउटा कामबाट हात झिकेर अर्को व्यवसायमा जोडिँदै गएँ । सफलता र असफलता भोग्दै गएँ । अब जिउने आधार बन्न थाल्यो डेरी व्यवसाय । यो पनि टिकेन र शुरु गरें ओम साई रेडिमेड होलसेल । ऋण, धन गरेर १० लाख लगानीमा शुरु भएको व्यवसाय थियो यो । सबैतिरबाट खोक्रो भइसकेको अवस्था । भन्छन् नि अभाव नै बाध्यता हो । अभावको जंगे पहाडको बीचमा थिएँ । यही बीचमा एक जना मान्छे प्रस्ताव ल्यायो, ‘तिम्रो भाइलाई राम्रो कम्पनीमा जागिर खुवाउँछु ।’ आर्थिक अभाव र तनावबीच घेरिएको मैले त्यो प्रस्ताव नस्विकार्ने कुरै भएन । त्यो मान्छेले रामै्र तलब आउने बताएका कारण नाइँ भन्न सकिनँ । तर, पैसाभन्दा पनि ठूलो कुरा जागिर पाउनु नै थियो । पैसा त हातमा एकछिन आउँछ र जान्छ तर जागिर सदाका लागि रहन्छ । यही सोचेँ । त्यो मान्छेका प्रस्ताव थपिँदै गए । अर्को भेटमा भाइलाई मात्र होइन, उसका बेरोजगार साथीहरू कति छन् ती सबै ल्याउनु, उनीहरूलाई पनि जागिर लगाइदिने आश्वासन देखाए । विज्ञान संकायमा आईएससी पूरा गरेको भाइ बेरोजगार थियो । भाइलाई नै काम मिल्ला कि नमिल्ला भन्ने आशंका उब्जिरहेका बेला आएको यो अफर  अकल्पनीय थियो । सबै जनाले रोजगारी पाए भने अरू के चाहियो र ! त्यसपछि सजिलै हुन्छ भन्ने जवाफ फर्काएँ । यसरी ऊसँग हिमचिम बढ्दै गयो । आफूलाई कम्पनीको जीएम बताउने उसले केही दिनपछि अर्को प्रस्ताव राख्यो, जागिर खान प्रतिव्यक्ति दुई लाख चाहिने । मान्छे जब विवशताको माखेसाङ्लोमा जेलिन्छ, त्यतिखेर उसले दायाँबायाँ केही नहेर्दो रहेछ । ऋणमा डुबेको थिएँ । त्यही ऋणबाट उकासिन सकिन्छ कि भनेर भाइलाई जागिर खुवाउनका लागि मैले ६० हजार बुझाएँ । विश्वासको भरमा ऊसँग यी सबै काम गरिएको थियो ।

 पैसा लिएपछि केही दिनमै सबैले जागिर पाउने आश्वासन दियो तर महिना बित्यो, कुनै छेकछन्द आएन । त्यसपछि फेरि कम्पनी मालिकसँग कुरा गर्दै गरेकाले केही महिना कुर्न सल्लाह दियो । हामीले पनि हुन्छ नि त भनेर सहमति जनायौँ तर चार महिना बित्यो फेरि अर्को बहाना बनायो । कम्पनीमा छुट्टी प¥यो भन्दै केही समय कुर्न लगायो । यसरी टार्दै गएको ठ्याक्कै एक वर्ष बित्यो । न दिएको पैसा फिर्ता पाइयो न त पायो भाइले जागिर । हामी यता जागिर पक्का कहिले हुन्छ भनेर पर्खाइमा बसेका थियौं । उसले यस्तो नाटकीय शैली अपनाउला भन्ने कसले सोचेको थियो र ? जब पछि उसको बारेमा थाहा पाइयो तब छाँगाबाट खसेझैं भइयो । त्यो मान्छे कम्पनीको कुनै आधिकारिक व्यक्ति नै होइन रहेछ ।

जतिपटक भेटियो के भइरहेको छ ? भनेर सोध्थेँ । जागिर लगाउनु त कता हो कता उल्टै ममाथि ठगी मुद्दा प्रहरीमा दर्ज गराएको रहेछ । आफैं पीडित बनेर । खाएको विष लागेको भए त सहन सकिन्थ्यो तर नखाएको विष पनि लाग्दो रहेछ । आफू जीएम नभएको, बरु रोजगारको पर्खाइमा रहेको र उल्टै आफ्नो पैसा उसले खाएको प्रहरीलाई बताएँ । उनीहरूसँग अनुनय विनय गरेँ तर केहीसीप लागेन । उल्टै हकारे । पीडित नै जेल जानुपर्ने ? कस्तो कानुन ? यो कस्तो न्याय ? जिन्दगीमा कहिल्यै बिर्सन सक्दिनँ त्यो कालो रात ः ८ चैत ०७२ लाई । नखाएको विषले पोल्यो । ६ महिना कालकोठरीमा बिताएँ । भाइले जागिर पाउने आशामा बस्नेलाई अपराधीजसरी नै जेल चलान गरियो । ममाथि अनेक खालका आरोप लगाएर त्यहाँसम्म पु¥याइयो । त्यो ६ महिनाको अवधिमा थाहा पाएँ मेरो आफन्त को–को रहेछन् किनकि सुखको प्याला पिउन त पराइ पनि आउँछन् र साथ दिन्छन् तर दुःखको आँसु एक्लै निल्नुपर्ने रहेछ । ममाथि यति ठूलो अन्याय–अत्याचार हुँदा साथीभाइ, आफन्त कसैले सम्झेनन् परिवारबाहेक । मैले कमाएको साथी कोही रहेछन् भने एक जना विकास उपाध्याय दाजु । जसले मलाई भेट्न पोखरादेखि वीरगञ्जसम्म आएर सान्त्वना दिए । 

भाइ बिहान–बेलुकै जेलमा भेट्न आउँथ्यो तैपनि मन खुशी हुँदैनथ्यो । ६ महिना जेलमा बसेपछि दुई लाख २२ हजार पाँच सय जरिवाना तिरेर निस्किएँ । यसरी मलाई फसाउने सुरेशप्रसाद बराई वीरगञ्जमै खुलेआम हिँडिरहेछन्, उनी सरकारी स्कुलको अध्यापक र उनका साथी हुन् अशोककुमार चौरसिया । उनी पनि बराईसँगै एउटै स्कुलमा पढाउँदारहेछन् । निर्दोष थिएँ, केही अपराध गरेको थिइनँ । यद्यपि, जेलमा पुगेँ । सामाजिक रूपमा अपराधी ठहरिएँ । जब जेलबाट छुटेँ त्यसपछि भोगेको मानसिक यातनाको वर्णन शब्दमा गर्न सकिन्न । समाजले अपराधी छुट्यो रे भन्दै कुरा काट्न थाले । मेरो कारण घरपरिवारले निकै सास्ती खेप्नुप¥यो । भाइको पढाइ बर्बाद भयो । परिवारको हातमुख जोर्ने एउटै बाटो थियो पसल । त्यो ६ महिनासम्म बन्द रह्यो । र, कालकोठरीमा रहँदा थाहा पाएँ कि सबैजना दोषी नै भएर जेल गएका नहुँदारहेछन् । सुरेशप्रसाद बराई जस्ता प्रशासनसँग आड हुनेले जसलाई पनि जेल हाल्न सक्दा रहेछन् । जेलबाट छुटेपछि व्यवसायमा लाग्न त्यति जाँगर चलेन । व्यवसायबाट सदाका लागि टाढा रहन सक्ने अवस्था पनि थिएन । आफूजस्तै निर्दोष भएर जेल जानेको उद्धार कार्यमा जुट्न मन लाग्यो । यही समयमा सुनेको हुँ विवेक उपाध्यायबारे । जो विकासका भाइ रहेछन् । हिडेन लाइफ फाउन्डेसन नामक संस्थाका फाउण्डर । हिडेन लाइफले जेल पुगेर धरौटी तिर्न नसकेका बन्दीको हकहितमा काम गर्दै आएको रहेछ । विवेक आफैं जेल परेर छुटेका छन् । उनलाई पनि त्यसैगरी फसाइएको रहेछ । ४६ दिनसम्म जेल बस्दा उनको दिमागमा क्लिक भयो र जन्मिएको रहेछ हिडेन लाइफ । अशेसर पटेल, दीपक सिंह, विकासप्रसाद रौनियार, हाम्रै सहकर्मी उनीहरू पनि जेल बसेर छुटेका । अशेसर पटेल ज्यान मुद्दामा जेल चलान भएका, म छुटेको केही दिनपछि वीरगञ्ज जेलबाट निक्लेका हुन् राजन गुप्ता ।

अहिले हामी एउटै संस्थामा छांै । देशभर १९ हजारभन्दा बढी कैदी छन् । यो बीचमा संस्थाले १ सयभन्दा बढी कैदीको धरौटी तिरेर जेलबाट निकाली पुनर्जीवन दिइसकेको छ । हिडेन लाइफ फाउन्डेसनको नारायणी अञ्चलको डाइरेक्टरको जिम्मेवारी मेरो काँधमा छ । देशभित्रका जेलमध्ये सबैभन्दा दर्दनाक अवस्था छ रौतहट कारागारको । पटक–पटक यो आवाज लिएर गृह मन्त्रालयसम्म पुगेका पनि हौं । तर, राज्यका निकायमा बस्नेहरू एक कानले सुन्छन् अर्को कानले उडाउँछन् । जेल परेकाहरू तलमाथि भएमा त्यसको जिम्मेवारी कसले लिन्छ ?

 मात्र समाजमा एउटा चेतना भर्नु छ, जेल पर्दैमा सबै अपराधी नै हुँदैनन् । कति निर्दोष पनि जेलमा सडिरहेका छन् । यस्ता व्यक्तिकै हितमा अब यो जीवन जिउने प्रण गरेको छु ।

– सतिश कलवार

टिप्पणीहरू