उपत्यकामा स्मार्ट लकडाउनको पालना कति ?

उपत्यकामा स्मार्ट लकडाउनको पालना कति ?

काठमाडौं उपत्यकाका तीन जिल्ला अहिले कोरोना महामारीको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई हजार पाँच सय ४५ संक्रमित भेटिएका छन् । त्यस्तै, भक्तपुरमा तीन सय २८ र ललितपुरमा चार सय ७४ संक्रमित थपिएका छन् । योसँगै राजधानी उपत्यका कोरोनाको उच्चजोखिममा परेको हो ।

यसलाई मध्यनजर गर्दै हिजोको क्याबिनेट बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण २०७८ आदेश जारी गरेको छ । पूर्ण लकडाउन नगरी कोरोना न्यूनीकरण गर्ने उद्देश्यले स्मार्ट लकडाउनको घोषणा भएको छ । कोरोना संक्रमण बढ्न नदिन गत पुस २७ गते उपत्यकाका सिडिओहरुले १८ बुँदे आदेश जारी गरे ।

त्यसपछि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन समेत दिइएको छ । सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ । साथै, स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भनिएको छ ।

आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र चालक, सहचालकसँगै यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ । विद्यालय, सिनेमाहल, जीमहल, रात्रीकालीन व्यवसायलगायत पेशा व्यवसाय बन्द गरिएको छ । तर पनि भीडभाड घट्ने अवस्थामा देखिएको छैन ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि सार्वजनिक स्थानमा हजारौंको संख्यामा भीडभाड यथावत छ । निस्फिक्री घुम्नेको संख्यामा कमी आउन सकेको छैन । भौतिक दूरीको पालना कसैले गरेको छैन भने मास्क अभियान पनि प्रभावकारी बनेको देखिँदैन ।

सरकारले माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेसँगै अस्पतालमा खोप लगाउनेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियान अझै जारी छ । खोप केन्द्रहरूमा सुरुवाती दिनदेखि नै देखिएको खोप लगाउनेको भीड घटेको छैन ।

पछिल्लो समयमा कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागु गरेको छ । योसँगै खोप लगाउन जानेको संख्या बढेको छ तर अन्यत्रको भीडभाडले कोरोनाको जोखिमलाई ह्वात्तै बढाइदिएको छ ।

कोरोनाको जोखिम न्यूनीकरण गर्न स्मार्ट लकडाउन घोषणा गरे पनि उक्त निर्णय प्रभावकारी बन्न सकेको छैन । बजारमा भीडभाड कम छैन भने मास्क नलगाई निस्फिक्री डुल्ने पनि त्यत्तिकै छन् ।

के भन्छन् उपत्यकाका सिडिओ ?

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले कोरोना नियन्त्रणमा सबै नागरिक उत्तिकै सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले यो कार्य सरकारको मात्रै नभई साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । प्रत्येक व्यक्तिको पछाडि एउटा सुरक्षाकर्मी खटाएर कोरोना रोक्न नसकिने उहाँको धारणा छ ।

कोरोना महामारीको दुई वर्ष बितिसक्दा पनि मास्क लगाउन अनुरोध गर्दै सूचना निकाल्न सम्भव नभएको प्रशासनको भनाइ छ । तर पनि सार्वजनिक सवारी, भीडभाड हुने क्षेत्रमा अनुगमन गरिरहेको उहाँले दाबी गर्नुभएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सुरक्षा निकायसँग समन्वय गरेर कोभिड न्यूनीकरणमा लागिपरेको जनाउनुभएको छ । प्रहरीसँग मिलेर मास्क वितरण गर्ने कार्य भए पनि बजारको भीडभाड व्यवस्थापन गर्न नसकेको उहाँ स्वीकार्नुहुन्छ ।

टिप्पणीहरू