मकवानपुरमा मास्क नलगाएको देख्ने प्रशासनले ओभरलोडेड ट्रिपर देखेन

मकवानपुरमा मास्क नलगाएको देख्ने प्रशासनले ओभरलोडेड ट्रिपर देखेन

मकवानपुरमा ट्रिपर आतंक बढिरहेको छ । नियमनकारी निकाय भने ओभरलोड बोकेका ट्रिपरलाई देख्दैन । जिल्लाभित्र एक हजार बढी ट्रिपर चल्ने गरेका छन् । अधिकांशले बोक्ने ओभरलोडका कारण मकवानपुरमा दुर्घटना बढिरहेको हो ।

ओभरलोड बोक्ने ट्रिपरलाई नियन्त्रण गर्न मकवानपुर प्रशासनको ध्यान जान नसक्नुले मकवानपुर प्रशासन दायित्वबाट चुकेको भन्दै नागरिकस्तरबाट बिरोध सुरु भएको छ । ट्रिपरका कारण सडकमा अन्यलाई यात्रा गर्न असहज भइरहेको समेत सामाजिक सञ्जालमा अभिव्यक्त धारणाबाट प्रष्ट हुन्छ ।

मकवानपुरको राक्सिराङमा रहेको खानी क्षेत्रबाट चुनढुङ्गा बोकेर आउने ट्रिपरहरुले क्षमताभन्दा तीन गुणा बढी ओभरलोड बोक्छन् । त्यस्ता ट्रिपरहरुले इलाका प्रहरी कार्यालय मनहरी, ट्राफिक प्रहरी पोष्ट मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी, ट्राफिक प्रहरी पोस्ट नेवारपानी, प्रहरी चौकी लेबड सजिलै पार गर्छ्न ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालयबाट तीन मिटरको दूरीबाट ओभरलोड बोकेका ट्रिपरहरु निर्वाध चलिरहँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर मुकदर्शक बनेको छ ।जिल्ला ट्राफिक कार्यालय अघिल्तिर अत्यधिक ओभरलोडका ट्रिपरहरुको पार्किङ दृश्यले ट्राफिक प्रहरीलाई नै गिज्याई रहेको भान हुन्छ । त्यस्ता ट्रिपरलाई ट्राफिक नियमअनुसार कारवाही गर्नुपर्र्यो ? ओभरलोडका कारण दुर्घटनाको जोखिम बढ्यो भन्दै मकवानपुरका प्रहरी प्रमुखलाई पटक पटक जानकारी गराउँदा समेत उहाँको एउटौ जवाफ प्राप्त हुने गरेको छ, ‘दैनिक ६० देखि ७० हजार रुपैयाँ जरिवाना गरेका छौं ।’

प्रहरीको यो जवाफले पैसा नै सबैथोक हो भन्ने देखाउँछ । प्रहरी प्रमुखको भनाइलाई सहज रुपमा लिने हो भने थप अप्ठेरो देखिन्छ । ओभरलोडेड ट्रिपर निर्वाध गुडिरहेका छन् । कहिँ कतै चेक जाँच भएको देखिँदैन । त्यस्तो अवस्थामा जरिवाना कसरी नियमित संकलन भयो रहस्यमय भएको छ । अटो मयुरीलाई चेक जाँच गरि काटिएको जरिवानाले ट्रिपरको ओभरलोडलाई निर्वाध छुट गरिएको आशंका गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसर नै थर्काउने गरि ओभरलोडेड ट्रिपरहरु निर्वाध गुडिँरहदा प्रहरी कार्यालय कसरी अनभिज्ञ भयो ?

‘कि ट्रिपरको अघिल्तिर लेखिएको बानिया निर्माण सेवाकै कारण मकवानपुरका त्यस्ता सवारी साधनलाई ओभरलोड बोक्न छुट दिइएको हो ?’ सर्वसाधारणले जिज्ञासा राखेका छन् । पटक पटक जनगुनासो आइरहँदा पनि प्रशासन मौन बस्नु अर्को रहस्यमय देखिएको छ । ‘सडकमा यात्रा गरिरहेका नागरिकले मास्क नलगाउँदा देख्ने प्रशासनले सयौं ट्रिपरले ओभरलोड बोक्दा किन देखेन ?’ उनीहरुको जिज्ञासा हो यो ?मकवानपुरको गढी गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिका १६ मा रहेको शिबम सिमेन्ट्समा दैनिक ३ सयको हाराहारीमा ओभरलोडेड ट्रिपरका कारण स्थानीयले जोखिमपूर्ण यात्रा गरिरहेका छ्न । तर तीनलाई कहिले जरिवाना गरियो ? कहिले जाँच गरियो ? कसैले भेउ पाएका छैनन् ।

उक्त गाउँपालिका २ शिखरकटेरीमा हरेक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी ड्युटीमा बसेका हुन्छन् । उनै प्रहरीको अघिल्तिरबाट दैनिक त्यस्ता सयौं ट्रिपर आवतजावत गर्दा ड्युटीका प्रहरीले कहिल्यै देख्दैनन् । त्यसैले भन्न थालिएको छ, ‘मकवानपुरमा ओभरलोडे ट्रिपर आतंक कहिले बन्द होला ?’

टिप्पणीहरू