कमरेडको शपथ

कमरेडको शपथ

– डा. घनश्याम न्यौपाने “परिश्रमी”

कमरेड
भरखरै शपथ लिएर फर्केका छन्
उनलाई
केन्द्रीय महाधिवेशनको
प्रतिनिधि बन्ने चिट्ठा पर्यो
गौरवशाली पार्टीको
केन्द्रीय सदस्य बन्ने
अवसर पनि मिल्यो यसपाली ।

अब उनी
उहाँ कमरेड भएका छन्
पशुपतिनाथको पटक पटक दर्शन
देवीस्तुतिको साँझ बिहान वाचन
हनुमान चालिसाको साधना
अहिले सार्थक भएको छ उनको ।

यतिखेर
मलाई सोध्न मन छ
केही प्रश्न कमरेडसँग
सायद
उनले कम्युनिष्ट मेनिफेस्टो
पढेकै छैनन्
पढेका छैनन् मात्रै कहाँ हो र ?
कस्तो छ मेनिफेस्टो ?
देखेकै छैनन्
के हो मेनिफेस्टो ?
बुझेकै छैनन् ।

के हो लालसलामको रहस्य ?
मुट्ठी कसेर दाहिने हात
किन उठाइन्छ माथि ?
उनलाई थाहा छैन
तर पनि उनी
उहाँ भएका छन्
अर्थात् गौरवशाली पार्टीको
केन्द्रीय सदस्य भएका छन् ।

उनीसँग
यी सरल र ज्वलन्त प्रश्नहरू पनि गर्नु छ मैले
मार्क्सको पूरा नाम के हो ?
स्टालिन किन तानाशाह मानिए ?
किन राखिएको छ
माओको शव सुरक्षित ?
किन ढालियो
लेनिनको सालिक गर्ल्र्याम्म ?
किन सोभियत संघको नक्सा
टुक्राटुक्रा भयो ?
कसले भत्कायो
बर्लिनको पर्खाल एकाएक ?
गोर्वाचेभ
कसरी बिक्यो रातारात ?
को हुन् –
हो चि मिन्ह,किम इल सुङ र फिडेल क्यास्ट्रो ?
किन थुनियो
गोञ्जालोलाई पिँजडामा ?
पुष्पलाललाई
हिजो किन गद्दार भने ?
किन खसालियो
मदन भण्डारीलाई दासढुंगाबाट?
किन शुरु गरे
प्रचण्डले छापामार जनयुद्ध ?
के गर्दै छन् अहिले
मोहनविक्रम सिंह ?
किन भन्दै छन्
कार्यकर्ताहरू
के. पी.ओलीलाई बा ?
किन गलहत्याइए
माधव आफैंले बनाएको घरबाट ?
किन विपथनको बाटो रोजे
बाबुराम भट्टराईले ?

अब अन्तिम प्रश्न
यसरी सोध्न मन लाग्यो –
कमरेड !
तपाईंले पार्टीको सदस्यता
कहिले,कोसँग लिनुभएको थियो ?

(कवि परिश्रमी त्रिविका रिटायर्ड प्राेफेसर हुन् । नेपालमा गजलमा पिएचडी गर्ने पहिलाे ब्यक्ति पनि हुन्।)

टिप्पणीहरू