दूधले बजार पाएपछि किसान हर्षित

दूधले बजार पाएपछि किसान हर्षित

तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रमा दूध सहकारी संस्था खुलेपछि त्यहाँका किसानहरुको अवस्था फेरिएको छ । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजार नपाएका किसानहरुको सहकारीले दूध संकलन सुरु गरेपछि अवस्था फेरिएको हो ।

पहिले किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजारसम्म पुर्‍याएर बिक्री गर्नुपर्ने बाध्यता थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।

तर, अहिले गाउँमै दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा गाईपालनमा आकर्षित भएका छन् । छथर गाउँपालिका-२ का झमक कटुवालले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । कटुवालले दूध बिक्रीबाटै वार्षिक ३ लाख ५० हजार बढी आम्दानी गर्छन् ।

झमकजस्तै यामबहादुर कटुवा पनि दैनिक २५ लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । झमक र यामबहादुरजस्तै यहाँका किसानको मुख्य आम्दानीको स्राेत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँमै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सुरु गरेका छन् ।

छुर्पी उद्योग सुरु गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष तथा छथर छुर्पी समूहका ब्यावस्थापक डम्बर बहादुर भट्टराईले बताए ।

दूग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांकअनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लाका २८ वटा सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्दै आएको जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालको भनाइ छ ।

गत दुई वर्षको तुलनामा जिल्लामा दूध उत्पादन दोब्बरले बढेको छ । संघले जिल्लाका दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग साझेदारी गरेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

१४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लाममा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुन्छ ।

टिप्पणीहरू