नोट छाप्ने ठाउँमा कोरोना छ्याप्छ्याप्ती

नोट छाप्ने ठाउँमा कोरोना छ्याप्छ्याप्ती

नेपाल सरकारको पछिल्लो स्वास्थ्य प्रोटोकलसम्बन्धी निर्देशनलाई लत्याएका कारण मुलुकको केन्द्रीय बैंकमा कोरोना संक्रमण देखिएको छ । गृह मन्त्रालयको निर्देशन एकातिर र राष्ट्र बैंकको निर्णय अर्कोतिर भएपछि धेरै जना कर्मचारी संक्रमणको चपेटमा परेका हुन् ।
प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गत पुस २४ गते गरेको सिफारिस र २५ गते गृह मन्त्रालयले गरेको सर्कुलरमा मुुलकभर २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइनेलगायतको प्रतिबन्ध थियो । तर, त्यही दिनदेखि पोखरामा बैंकले सञ्चालन गरेको ‘बेमौसमी’ तालिममा सहभागी धेरै कर्मचारी अहिले संक्रमित भएका हुन् ।पुस २५ देखि ३० गतेसम्म पोखरामा अधिकृतस्तरीय केन्द्रीय बैंक तालिम आयोजना गरिएको हो । जनशक्ति व्यवस्थापन विभाग मातहत बैंकर्स प्रशिक्षण केन्द्रको आयोजना र पोखरा कार्यालयको समन्वयमा उक्त कार्यक्रम गरिएको बताइन्छ ।

“राज्यले नगर्नु भनेको कार्यक्रम बल मिचेर आयोजना गर्नु र लगत्तै कर्मचारी संक्रमित हुनुले आयोजक विभागका जिम्मेवारहरुको प्रमुख कमजोरी देखिएको स्रोतको दाबी छ “

पुस १९ गतेदेखि मुलुकमा कोरोना संक्रमण दर उकालो लागिरहेको अवस्थामा केन्द्रीय बैंकले जरुरी नदेखिएको उक्त कार्यक्रमको आयोजना गर्नै पर्ने अवस्थासमेत नरहेको पोखरा कार्यालयका एक जना सहायक निर्देशकले बताएका छन् ।

सहभागी र आयोजक विभागका गरी झण्डै तीन दर्जन कर्मचारी आठ दिनसम्म सँगै बसेका थिए । उनीहरु त्यसबीचमा पोखराका विभिन्न स्थानमा घुमघामको लागि पुगेका थिए भने साँझ र बिहान होटल रेष्टुरेन्टमासमेत छिरेका थिए । कार्यक्रम थालनीसँगै केही कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा चार जना पोजिटिभ भएको बताइन्छ ।३० गते कार्यक्रम सकिएपछि राजधानी र अन्य जिल्लामा फर्केका कर्मचारीले सामाजिक सञ्जालमा आफूहरु पनि कोरोना संक्रमित भएको स्टाटस हालेका छन् । त्यसरी संक्रमित भएको स्टाटस लेखेका र नलेखेका गरी थप आधा दर्जनमा कोरोना पुष्टि भएको हो । राज्यले नगर्नु भनेको कार्यक्रम बल मिचेर आयोजना गर्नु र लगत्तै कर्मचारी संक्रमित हुनुले आयोजक विभागका जिम्मेवारहरुको प्रमुख कमजोरी देखिएको स्रोतको दाबी छ ।

नाम नबताउने शर्तमा बैंकका एक जना कार्यकारी निर्देशकले भने,‘जनशक्ति व्यवस्थापन विभागका प्रमुख तुलसी घिमिरेलाई पोखरा जानु थियो । अन्तिम दिन प्रमाणपत्र वितरणको लागि उनी त्यहाँ पुगे । त्यत्तिको लागि कार्यक्रम सञ्चालन गर्दा अहिले संक्रमणको चर्को जोखिम देखियो ।’

घिमिरे पोखरा कार्यालयका निर्देशकसँग निजी भेटघाट र छलफल गर्न पोखरा जाने तारतम्यमा उक्त कार्यक्रम भएको बताइन्छ । निर्देशक रामशरण खरेल पूर्वअर्थमन्त्री,पूर्वगभर्नर तथा अमेरिकाबाट फकाईएका राजदूत डा. युवराज खतिवडाका छोरी ज्वाईं हुन् । घिमिरेमाथि पछिल्ला दिनमा बैंकमा खरेलको निर्देशनमा जनशक्ति विभागमा बसेर कर्मचारी छटनी गरेको आरोप लाग्दै आएको छ ।

काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघ र माओवादीनिकट कर्मचारी संगठनले घिमिरेको विभागीय सरुवाको माग उठाउँदै आएका छन् । त्यही सन्दर्भमा उनी पोखरा जाने योजनामा बनाइएको तालिम कार्यक्रममा सहभागी झण्डै एक दर्जन कर्मचारीमा अहिले कोरोना संक्रमण देखिएको हो ।

टिप्पणीहरू