ग्यास गिजर मान्छे मार्ने हतियार हो ?

ग्यास गिजर मान्छे मार्ने हतियार हो ?

अघिल्लो साता स्याङ्जामा बाथरुमभित्र नुहाउने क्रममा निसास्सिएर एक महिलाको मृत्यु भयो । गल्याङ नगरपालिका ३, लल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्यास गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको थियो ।

नुहाउन बाथरुम छिरेको लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरुले ढोका फुटाएका थिए । सोहीक्रममा उनी बेहोस अवस्थामा बाथरुमभित्र फेला परेकी थिइन् । लगतै उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यसैगरी गत पुस ५ गते बाथरुममा नुहाउन छिरेका काठमाडौं मोडल कलेजका विद्यार्थी सुशिल सहनीको ज्यान गयो । गिजर अन गरेर नुहाउन छिरेका सहनी धेरै बेर ननिस्किएपछि ढोका फोडेर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले उनी बेहोस भएको प्रहरीको दाबी थियो । बेहोस भेटिएका उनलाई लगतै अस्पताल पुर्याउँदा पनि बचाउन सकिएको थिएन ।

जाडो मौसममा सजिलोको निम्ति अहिले धेरैजसोले घरमा ग्यास गिजर जडान गरेका छन् । तातो पानी आउने र कोठामा बस्नेलाई समेत सहज हुने भएपछि ग्यास गिजरतर्फ धेरैको आकर्षण बढेको हो । अझ होस्टेलका विद्यार्थीलाई आकर्षित बनाउन ग्यास गिजर जडान गर्ने गरिएको पाइन्छ ।

सजिलोको लागि ग्यास गिजर जडान गरिए पनि सावधानीमा लापरबाही गर्दा त्यही गिजर मृत्युको कारण बन्न पुगेको छ । गिजरको प्रयोगमा किशोरकिशोरी मात्र नभई ज्येष्ठ नागरिकहरुले पनि लापरबाही गरेको देखिन्छ । वर्षेनी जाडोयाममा यस्ता घटना हुने गरेका छन् । तर, पनि गिजरलाई ख्यालख्यालको रुपमा लिने गरेको जानकारहरु बताउँछन् । राम्रोसँग हावाको ओहोरदोहोर नहुने ठाँउमा गिजरको प्रयोग नगर्दा नै उचित हुने सल्लाह दिइएको छ ।

राम्रो भेन्टिलेसन नभएको बाथरुममा प्राकृतिक तवरले पानी तताएर नुहाउनु नै सबैभन्दा उपयुक्त देखिन्छ । गिजरले बढी अक्सिजनको खपत गर्दछ भने कार्बनमोनोअक्साइडको मात्रा बढाउँछ । कार्बनमोनोअक्साइड बढी हुँदा श्वासप्रश्वासमा समस्या हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु पर्छ । त्यसले मानिसलाई तत्काल बेहोस बनाइदिन्छ ।

ग्यास गिजर खरिदकर्ताले पनि बिनाजानकारी खरिद गर्दा यस्ता दुर्घटनाहरु निम्तिएका हुन । यसको प्रयोग कसरी र कस्तो ठाँउमा गर्ने भन्ने बारेमा व्यापारीले समेत बताउँदैनन् । जडान गर्ने प्राविधिकहरुले समेत कसरी चलाउने भनेर नसिकाएपछि दुर्घटना बढेको हो ।

गिजरको प्रयोग गर्दा निस्सासिएर विगतमा कतिको मृत्यु भयो यसको यकिन तथ्याङ्क प्रहरीसँग पनि छैन । प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्कअनुसार विगत १० वर्षको अवधिमा १५ जनाले गिजर प्रयोग गर्ने क्रममा निस्सासिएर अकालमा ज्यान फालेका छन् । त्यस्तै, आठ जना नुहाउने क्रममा गम्भीर अवस्थामा भेटिएका थिए ।

कतिपयको निस्सासिएर त कतिको गिजर पड्किँदा मृत्यु भएको प्रहरीको तथ्याङ्कले बताउँछ । यता, चिकित्सकहरु ग्यास गिजरको प्रयोग नगर्दा नै उचित हुने बताउँछन् । भक्तपुर अस्पतालका छाती रोग विशेषज्ञ डा. कुन्दन कार्कीले सकेसम्म ग्यास गिजरको प्रयोग नगर्नु नै राम्रो हुने सल्लाह दिनुभएको छ । उहाँले ग्यास गिजरको प्रयोग गरेको अवस्थामा झयाल वा भेन्टिलेसन खुला राख्नुपर्ने बताउनुभएको हो । ‘राम्रो भेन्टिलेसनको अभावमा निस्सासिने, बाथरुममै बेहोस हुने जस्ता दुर्घटनाहरु निम्तिन सक्छ,’ उहाँको धारणा हो यो । त्यसैगरी गिजरको प्रयोग गरेर नुहाउँदा सकेसम्म छिटो नुहाउन सुझाइएको छ ।

के हो कार्बन मोनोअक्साइड ?

कार्बन मोनोअक्साइड एक विषक्त ग्यास हो । यो पेट्रोल, काठ, प्रोपेन, चारकोल वा अन्य इन्धन जलाएर उत्पादन हुने रंगहीन, गन्धहीन, स्वादहीन ग्यास हो । अनुचित रूपमा हावा चल्ने उपकरण र इञ्जिनहरू, विशेष गरी कडा रूपमा बन्द वा बन्द ठाउँमा, कार्बन मोनोअक्साइडलाई खतरनाक स्तरहरूमा जम्मा गर्न अनुमति दिन सक्छ ।

कार्बन मोनोअक्साइड त्यतिखेर विषक्त हुन्छ जब यो ग्यास मानिसको रक्तप्रवाहमा जम्मा हुन्छ । जब धेरै कार्बन मोनोअक्साइड हावामा हुन्छ र यसले रातो रक्त कोशिकाहरूमा रहेको अक्सिजनलाई कार्बन मोनोअक्साइडमा बदल्छ । लगत्तै यसले गम्भीर असर गर्छ र मानिसलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ ।

रक्त कोशिकाहरुमा कार्बन मोनोअक्साइड प्रवेश गरेपछि मानिसलाई टाउको दुख्ने, कमजोरी हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, दृष्टि धमिलो हुँदै जाने जस्ता लक्षणहरु देखिने डा.कार्कीको भनाइ छ ।

गिजरबाट कसरी जोगिने ?

बाथरूममा नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राख्नुपर्ने विशेषज्ञ कार्कीको सुझाव छ । गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्ने र आफूलाई श्वास–प्रश्वासमा समस्या आए वा नआएको ख्याल गरिराख्नुपर्छ । सकेसम्म बन्द कोठामा यसको प्रयोग नगर्नु नै वेश हुने विज्ञहरुको धारणा छ ।

टिप्पणीहरू