प्रदेश २ मा झमेला, चुनाव कहिले होला ?

प्रदेश २ मा झमेला, चुनाव कहिले होला ?

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दलीय सहमति नजुटेपछि चुनावी प्रक्रियामा जाने भएको छ । विशेष समितिले नाम र राजधानीको टुंगो लगाउन सहमति नजुटेको प्रतिवेदन आज प्रदेशसभामा पेस गरेसँगै चुनावी प्रक्रियाबाट नामको छिनोफानो हुने भएको हो ।

आज बसेको प्रदेशसभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निश्कर्षसहित नाम र राजधानी निर्वाचन प्रक्रियाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ । प्रदेशको नाम र राजधानीमा दलीय सहमतिका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिनमा विभिन्न पार्टीका सासदहरुसँग छलफल र संवाद गरे पनि दलहरुबीच सहमति हुन सकेको छैन ।

प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेशसभालाई अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतको व्यवस्थापन मिलाउन भनिएको छ । मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ ।

विशेष समितिले नाम र राजधानीका लागि आएका विभिन्न प्रस्तावहरुमा सहमति जुटाउने प्रयास गरेको थियो । समितिका अनुसार नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्यमधेशमा मतदान गर्न सुझाव दिइएको छ ।

समितिले स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्तावलाई ३ वटा प्रस्तावमा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम, उत्तरमा ढल्केबरस्थित पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला, मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।

त्यसैगरी, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिकालाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।

आजदेखि प्रदेशसभामा सुरु भएको प्रदेश नाम र राजधानीको विषयको बहस भोलि बिहान ११ बजेको बैठकमा पनि जारी रहने सभामुख यादवले जनाएका छन् । भोलि पनि सहमतिको वातावरण नबने निर्वाचन प्रक्रियाको तयारी हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसैबीच, प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेशसभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।

छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेश नाम राख्नुपर्ने पक्षमा छन् भने काँग्रेस मिथिला–भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । यसरी दलहरु आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।

प्रदेशसभामा अहिले सभामुखसहित १ सय ४ जना सांसद छन् । दुई तिहाइको संख्या पु¥याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।

टिप्पणीहरू