कोरोनाको काल, सतर्कताको बाघचाल

कोरोनाको काल, सतर्कताको बाघचाल

बेलैमा होस पुगेन भने पछुताउनुको के नै अर्थ हुन्छ र ? बाघचाल खेलमा जसरी बाख्राले बाघलाई पनि थुन्न सक्छ वा भनाैँ चेसमा सिपाहीले पनि राजालाई बन्दी बनाएझैँ चारैतिरबाट कोरोनाले घेरिसकेको अवस्था छ । तैपनि, नपरेसम्म नचेत्ने बानीले हामीलाई गाँजेको छ । हामी आफ्नै लापरबाहीले कोरोना फैलिन मद्दत गरिरहेका छौँ । अहिले जसरी कोरोनाले छेको मारेर आक्रमण गरिरहेको छ, हामीले पनि बेलैमा सचेतता अपनाउने हो भने त्यसले केही गर्दैन । कोरोना आफैँ आउँदैन, कसै न कसैबाट सर्ने हुनाले बच्ने उपाय अवलम्बन गर्न सख्त जरुरी छ ।

नेपालमा केही दिनयता कोरोनाका बिरामीको संख्या ह्वात्तै बढेको छ । कतै पनि परीक्षण प्रभावकारी रुपमा भएजस्तो देखिँदैन । कालिमाटी तरकारी बजारमा राति दुई बजेदेखि सामान किन्नेको भीड हुन्छ । अधिकांशसँग मास्क छैन । सामाजिक दूरी पालना गर्नु असम्भवझैँ देखिन्छ । बल्खु, तीनकुने, धुम्बाराही कालिमाटी, जडीबुटीलगायत तरकारी बजार उपत्यकाको सबभन्दा धेरै भीड हुने स्थान हुन् । आफू संक्रमित भएर समाज र घरपरिवारमा सार्ने काम हामीबाटै भइरहेको छ ।

भीडभाड हुने स्थानमा स्वास्थ्य मापदण्डको पालना भएको छ छैन भनेर अनुगमन गरिएको छैन । छिमेकी मुलुक भारतमा समेत कोरोनाले तहल्का मच्चाएको छ । भारतबाट रातभर गाडीका गाडी हरियो तरकारी, फलफूल आयात भइरहेको छ । के कोरोना रातिचाहिँ नसर्ने हुन्छ ? सामान ल्याउने चालक, सहचालकलाई कोरोना लागेको हुन सक्ने भए पनि परीक्षण गरिएको छैन ।

राजधानीमा सञ्चालित सुपरमार्केट तथा व्यापारिक मलमा कोरोना मापदण्ड पालना भएको छैन । यस्ता मलमा मानिसको भव्य भीड देखिन्छ । भाटभटेनी, सेल्सबेरी, बिग मार्टलगायतमा थामिनसक्नुको भीड देखिन्छ । वर्कसपमा काम गर्ने मिस्त्रीको मुखमा मास्क हुँदैन । सामाजिक दूरी पालना त टाढाको कुरा भइगयो । गाडी बनाउनेदेखि बनाउन लगाउनेले समेत कोरोनालाई ख्यालख्याल सम्झिरहेका छन् ।

बैंक, फाइनान्स तथा वित्तीय संस्थामा समेत धेरै भीडभाड छ । त्यहाँ पनि स्वास्थ्य मापदण्डको खासै पालना गरिएको पाइँदैन । यता, सार्वजनिक सवारीसाधन र फुटपाथमा पनि लापरबाही छ । सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको पनि कमजोरी उस्तै छ । त्यहीमाथि सहचालकले भेडाबाख्रा जसरी यात्रु कोचेका हुन्छन् । मास्क लगाएकाले पनि नलगाउन सक्ने स्थिति बन्छ । यो पनि कोरोना फैलाउने प्रमुख कारण हो । अहिले पनि फिल्म र म्युजिक भिडियोको सुटिङ भइरहेको छ ।

एउटा सानो म्युजिक भिडियो बनाउन सयौँ मान्छे चाहिन्छ भने त्यहाँबाट कोरोना फैलिन सक्छ । एउटालाई कोरोना रहेछ भने सबैमा सल्किन्छ । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । सिनेमा हल पनि कोरोना फैलाउने कारखाना बन्न सक्छ । मनोरञ्जनको नाममा सञ्चालन हुने दोहोरी साँझ र रात्रिकालीन व्यवसायीले कोरोना फैलाउन मद्दत गरिरहेका हुन्छन् ।

दोहोरी साँझमा गीत गाउन आउनेको मुखमा मास्क छैन । अरूको पनि उही हाल छ । रात्रिकालीन व्यवसायले कोरोनालाई बढावा दिइरहेको छ । अत्यावश्यकबाहेक अन्य केही दिनका लागि बन्द गर्दा कोरोनाको जोखिम केही कम गर्न सकिन्छ । अहिले पनि मठमन्दिर खुला छन् । पूजाआजा र धर्म गर्ने नाममा कोरोना फैलिरहेको छ । पार्टी प्यालेस पनि घन्केकै छन् । फुटपाथमा पसल नचलाए गरिबको हात, मुख जोडिन्न । भोलि कोरोनाको बिरामी थेग्न नसक्ने गरी बढ्न सक्छन् ।

अस्पतालका बेड सबै भरिएर भुइँमा राखी उपचार गर्नुपर्ने हुनसक्छ । प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले जनता बचाउनतर्फ लाग्नुपर्छ । पहिलो प्राथमिकता जनता हो । सबैभन्दा पहिले जनतालाई सुरक्षित राख्नुपर्छ । दुई वर्षअघि एक जना कोरोना संक्रमित भेट्दा देश तात्यो र सरकारले लकडाउन घोषणा ग¥यो । तापनि कोरोनाबाट झण्डै १२ हजार नेपाली जनताले ज्यान गुमाएका छन् ।

अहिले पनि लामो रोड गाडी चलिरहेको छ । विमान पनि उडिरहेको छ । मानिसको ओहोरदोहोर उस्तै छ । एउटा व्यक्तिले आफूसँग भएको कोरोना अर्को जिल्लामा फैलाउने काम गरिरहेको छ । वडाध्यक्ष र मेयरहरू तात्नुपर्ने हो । कोरोनाले हंगामा मच्चाएको मुलुकमा समेत नेपाली विमान उडिरहेको छ । गाउँ–गाउँबाट काठमाडौं र काठमाडौंबाट गाउँ जाने क्रम जारी छ । यात्रुको कोरोना परीक्षण गरिएको छैन । रात्रिबस चलिरहेको छ । होटल लज खुलै छन् । सिसिएमसीको बैठकले पनि भीडभाड हुने स्थानलाई पहिलो महत्व दिएर त्यसलाई व्यवस्थित गर्नबारे छलफल गर्नुपर्छ । कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सिसिएमसीले दैनिक नयाँ नीति निर्धारण गर्नुपर्छ ।

टिप्पणीहरू