दोहोरी,डान्स बार,सिनेमा केही समय बन्द

दोहोरी,डान्स बार,सिनेमा केही समय बन्द

कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार,जिम खाना,दोहोरी,पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ । शुक्रबार बसेको क्याबिनेट बैठकले यस्तो निर्णय गरेको हो।

क्याबिनेटका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि यसमा रोक लगाइएको जानकारी दिनुभयो ।

धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने,सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कूल क्षमता एक तिहाइमात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।

उहाँले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । ‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘कूटनीति माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ ।’

टिप्पणीहरू