सरकार, भीड जम्मा गर्ने के नै थियो र दरकार ?

सरकार, भीड जम्मा गर्ने के नै थियो र दरकार ?

मान्छे खुशी हुने पदमात्रै पाएर हो कि पदसँगै बस्ने टेबुल कुर्सी पनि चाहिने हो ? यस्तो भद्रगोल सिर्जना भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ।

तीन सचिवले चल्ने ठाउँमा ९ सचिवको भीड, न बस्ने कुर्सी छ, न चिया राख्ने टेबुल नै । विशिष्ट श्रेणीका पदाधिकारीहरुको हालत खरिदार–मुखियाभन्दा तलको भएपछि न पदको इज्जत रह्यो, न त पदाधिकारी नै खुशी हुने भए ।

यस्तो हुनुअघि नै मुख्यसचिवले ‘म सचिवहरुलाई यस्तो कष्ट हुने गरी मेरो कार्यालयमा भित्र्याउँदिन’ भन्न सक्नुपथ्र्यो । तर, उनले केही बोल्न नसक्दा अहिले चार जना सचिव टेबुल–कुर्सीविहीन छन् ।

प्रशासन सेवाबाट लक्ष्मण अर्याल, स्वास्थ्यमा दरबन्दी बनाएर यामकुमारी खतिवडा र शारीरिक समस्यामा रहेका खगेन्द्र नेपाल पनि सचिव भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका हुन् । मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव खाली राखेर अतिरिक्त समूहमा तानिएको छ ।

अर्थबाट तानिएका शिशिर ढुंगाना त्यहीं छन् । तीन जना सचिव भए काम चल्ने प्रधानमन्त्री कार्यालयमा प्रशासनतर्फका चार र कानुनका एक गरी पाँच जना सचिव नै बढी भइरहेका थिए । त्यसमाथि ९ सचिवको भीड जम्मा गरिएपछि यस्तो विजोग भएको हो ।

ठाउँको अभाव भएकै कारण पोहोर रक्षामन्त्रीबाट तानिएका ईश्वर पोखरेललाई सचिव यादव कोइरालाको कोठा कब्जा गरेर राख्नुपरेको थियो । अहिले त प्रम कार्यालय आफ्नो पुरानो भवन चिरिच्याट्ट पारेर सरेको छ ।

टिप्पणीहरू