लिजाको निम्ति दिनदिनै लफडा

विदेशको राष्ट्रिय झण्डा हल्लाउँदै स्वदेशमा तस्करीसम्मका घटना भए । त्यसपछि बल्ल पैसाको बलमा बाहिरको झण्डा हल्लाउन पल्किएका व्यापारीलाई कस्नुपर्छ भन्ने चेतना सरकारले पायो ।

कोभिड संक्रमणपछिको पहिलो लकडाउनमा किर्गिस्तानको महावाणिज्यदूत भएबापत प्राप्त कूटनीतिक नम्बरप्लेटमै सवार भई सुलभ अग्रवाल थर्मल गन तस्करीमा संलग्न भए । र, प्रहरीद्वारा पक्राउ परे । सुलभमात्र हैन, अधिकांश व्यापारिक पृष्ठभूमिका पचासभन्दा बढी व्यक्तिहरु विभिन्न देशका अवैतनिक महावाणिज्यदूत छन् । व्यापारी हुन्, तिनले कतै न कतै राज्यको कर, भ्याटका बिल वा कुनै न कुनै किसिमको सन्देहात्मक काम गरेकै पाइन्छ ।

चौधरी, गोल्छा, खेतानसहित ठूला व्यापारिक घरानाका मालिकले कुनै देशको अवैतनिक महावाणिज्यदूतको नियुक्ति पाएकै भए पनि हरहमेशा झण्डा हल्लाएर हिँड्ने सुविधा अघिल्लो सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रोकेकोमा नयाँ मन्त्री डा. नारायण खड्काको मन पग्लिएर शिष्टाचार महापाल डा.दुर्गाबहादुर सुवेदीलाई निर्णय उल्टिएकोले कार्यान्वयनमा लान निर्देशन दिनु भएको छ । कूटनीतिक नम्बरप्लेटको गाडी भएपछि हत्तपत्त सुरक्षा जाँच गरिँदैन । सिंहदरबारसहित संवेदनशील क्षेत्रमा प्रवेश गर्ने क्रममा परिचयपत्रको खोजी गर्नेजस्ता काममा पनि लचिलो व्यवहार हुन्छ ।

तर, त्यो सम्मानका आडमा अनुचित काम गर्ने क्रम बढेपछि झण्डा हाल्ने निर्णय सुचारु गराउँदै नयाँ कार्यविधिअनुसार, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राजदूत आउने औपचारिक कार्यक्रममा अलि खुकुलो बनाइएको छ । अब पद र पैसावाल व्यापारीहरुले राष्ट्रिय दिवसहरुमा पनि झण्डा लगाउन पाउने भएका छन् । यता चुन्देवीमार्ग, महाराजगञ्जमा महावाणिज्य दूतावासको बोर्ड टाँगेर बसेकी लेखिका तथा पर्यटन व्यवसायी लिजा छोग्याललाई न्युजिल्याण्डको तर्फबाट नेपालका निम्ति दूतको हिसाबले मान्यता दिलाउन फेरि पनि बालुवाटार र सिंहदरबारतिर दौडधूप शुरु भएको छ ।

दलाई लामासँगै तिब्बतबाट भागेका तेन्जिङ (हाल अष्ट्रेलियन) नागरिकसँग वैवाहिक सम्बन्ध रहेकी लिजा १९७४ देखि नेपालमा छिन् । सन् २०१० देखि न्युजिल्याण्डको महावाणिज्यदूत रहेकी लिजाको म्याद ०१७ मै सकिएको हो । त्यसपछि नेपाल सरकारले थप्न मानेको थिएन ।

त्यसमाथि उनलाई ०७३ साल फागुनमा वाणिज्यदूत नियुक्त गर्न उपयुक्त नहुने भनेर गृह मन्त्रालयले चिठी लेखेको थियो तैपनि सम्पर्क कार्यालय चलाइराखेको सूचना पाएपछि फेरि ०७७ असोज २९ गते गृहले अर्को चिठी लेखेर जनाऊ दियो । यसलाई पनि अटेर गर्ने काम भयो । उनलाई नियुक्ति दिनका लागि दिलोज्यान दिएर केही नेता लागिपरेको प्रधानमन्त्री कार्यालयमा व्यापक चर्चा छ ।

विभिन्न देशका तर्फबाट नेपालको अवैतनिक महावाणिज्यदूत हुनेमा चौधरी ग्रुप र वैद्य घरानाको ताँती नै छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी आफूसहित उनका दुई भाइ, तीन छोरा र एक ज्वाइँ नै विभिन्न देशका तर्फबाट अवैतनिक महावाणिज्यदूत छन् । माइला भाइ बसन्त मोरक्को र कान्छा भाइ अरुण हंगेरीका तर्फबाट अवैतनिक महावाणिज्यदूत हुन् भने छोराहरु बरुण कजाकिस्तान, राहुल माल्दिभ्स र निर्वाण सर्वियाका लागि अवैतनिक महावाणिज्यदूत हुन् । वैद्य समूहका सुरज फिलिपिन्स, करण लातभिया र किरण युक्रेनका तर्फबाट अवैतनिक दूत हुन् ।

व्यापारी साहिल अग्रवाल बोस्निया हर्जगोभिनाका लागि, उखु किसानको करोडौं रकम नतिर्ने शशिकान्त अग्रवाल इक्वेडर, सुमित र अशोक अग्रवाल गिनी, पञ्चकन्या ग्रुपका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिका, राजेशकाजी श्रेष्ठ भियतनाम, शोभाकर न्यौपाने लिथुआनिया, हरिभक्त शर्मा स्लोभेनियाका तर्फबाट अवैतनिक छन् ।

दिनेश श्रेष्ठ माल्टा, राजेन्द्र खेतान पोर्चुगल, प्रेमप्रकाश खेतान टर्की, शारदा ग्रुपका शिवरतन शारदा जर्जिया, अजेयराज सुमार्गी बेलारुस, विक्रम पाण्डे (पर्यटन) ग्रिस, आइएमई ग्रुपका चन्द्रप्रसाद ढकाल इण्डोनेसिया, पुना भण्डारी पपुवान्युगिनी, द्वारिकाज होटलकी अम्बिका श्रेष्ठ स्पेन, बुद्ध बस्नेत क्यानाडा, बसन्तराज मिश्र चिली, लोकमान्य गोल्छा पोल्याण्ड, गोल्डस्टार जुत्ता तथा कुमारी बैंकका प्रवद्र्धक अमिरप्रताप राणा क्रोएसिया, आङछिरिङ शेर्पा बेल्जियम, पद्म ज्योति साइप्रस, नरेश दुगड मेक्सिको, नारायण बजाज रोमानिया, प्रतिमा राणा पाण्डे इटाली, नवराज दाहाल इस्टोनिया, राजेन्द्र गिरी इथियोपिया, गणेश कार्की मौरिससका तर्फबाट नेपालको अवैतनिक महावाणिज्यदूत हुन् ।

यसरी विभिन्न देशका तर्फबाट आफ्नो देशमा अवैतनिक महावाणिज्यदूत भएकाहरुले ती–ती देशसँग आफ्नो देशको व्यापारिक कारोबार विस्तार गर्लान् भन्ने सरकारको अपेक्षा हुन्छ । तर, व्यक्तिगत सम्बन्ध विस्तार गर्दै कतिपयबाट यता कमाएको धन उता लुकाउनका लागि मात्रै ती पदहरु प्रयोग भएको आरोप लाग्ने गरेको छ ।

टिप्पणीहरू