भरतपुर अस्पतालले भन्यो : सामान्य प्रकृतिका बिरामी घरमै बस्नु

भरतपुर अस्पतालले भन्यो : सामान्य प्रकृतिका बिरामी घरमै बस्नु

कोरोनाको संक्रमितको चाप बढेपछि भरतपुर अस्पतालले सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन भनेको छ । चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालमा केही दिनदेखि कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएपछि यस्तो आग्रह गरिएको हो ।

अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामीहरु केही पछि मात्र अस्पताल आउनु उपयुक्त हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्णप्रसाद पौडेलले बताउनुभयो । अस्पतालमा पुस २९ गते एक सय ७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो ।

३० गते एक सय ८६ जनाले कोभिड परीक्षण गराएकोमा एक सय १५ जना (६१.२५ प्रतिशत) मा कोभिड पुष्टि भएको हो । यो कोरोना बढ्ने संकेत भएको र अस्पताल आउनेमा जोखिम झनै बढ्ने सम्भावना रहेको बताउदै उहाँले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीलाई अस्पताल आउने समय पछि सार्न सुझाव दिनुभएको हो ।

तत्काल अस्पताल पुग्नुपर्ने बिरामी र कुरुवालेसमेत हेलचेक्राईं नगरी जनस्वास्थ्यका मापदण्ड अर्थात सही तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दूरी कायम गर्ने र बारम्बार हात धुने नियमको पालना गर्न भनिएको छ ।

टिप्पणीहरू