कोरोना बढेपछि सुर्खेतमा ‘स्मार्ट लकडाउन

कोरोना बढेपछि सुर्खेतमा ‘स्मार्ट लकडाउन

कोरोना महामारीले डरलाग्दो रुप लिएपछि सुर्खेतमा कडाई गरिएको छ । संक्रमित तीव्र गतिमा बढेपछि जिल्ला प्रशासन कार्यालय, सुर्खेतले कडाई गरेको हो । प्रशासनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै १२ बुँदे स्वास्थ्य मापदण्डसहित स्मार्ट लकडाउन लागु गरेको छ ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त आदेश जारी गरिएको प्रशासनले बताएको हो । १२ बुँदे मापदण्डमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भनिएको छ । साथै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिकस्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ गतेदेखि खोप कार्ड देखाउनु पर्ने, आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्ने लगायतका निर्देशन छन् ।

त्यस्तै, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द हुने, पूर्वनिर्धारित परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने व्यवस्था मिलाइएको छ । सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनपर्ने छ भने सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश निषेध, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित तुल्याउनुपर्ने भनिएको छ । जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयले विगतमा सञ्चालन गरेका एम्बुलेन्स, कोभिड १९ उपचार तथा आइसोलेसन सेन्टरलाई सुदृढ बनाउँदै सञ्चालनमा ल्याउन अथवा दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ ।

टिप्पणीहरू