जबरजस्ती करणी र बालयौन दुराचारका घटना जताततै

जबरजस्ती करणी र बालयौन दुराचारका घटना जताततै

काठमाडौं र बर्दियामा जबरजस्ती करणीका घटना भएका छन् । झापामा बालयौन दुराचार गरिएको छ ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको खबर पाउने बितिक्कै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

उता बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुरका युवक पक्राउ परेका छन् । राजापुर नगरपालिका–४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय बिमल थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

दुबै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति यौन दुराचार गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू