सरकारको आदेश लत्याउँदै सरकारी निकायले नै गर्‍यो चितवनमा भेला

सरकारको आदेश लत्याउँदै सरकारी निकायले नै गर्‍यो चितवनमा भेला

देशैभर कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ । सरकारले सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न तथा गोष्ठी, भेला, सम्मेलन लगायत कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ । तर सरकारकै आदेश सरकारमातहतककै निकायले उल्लंघन गर्दै कोरोना निम्त्याएका छन् ।

सरकारको आदेशअनुसार न्युनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले चितवनमा गोष्ठी आयोजना गरेको छ ।

गोष्ठीमा न त सरकारले भनेझैँ स्वास्थ्य मापदण्ड पालना गरिएको छ न त सहभागीको संख्या नै कम छ । इकाइका सूचना अधिकारी प्रकाश महर्जनका अनुसार पूर्वनिर्धारित कार्यक्रम गरिएको हो । चितवनको सौराहामा भएको गोष्ठीमा ३० जिल्लाका समन्वय इकाइ प्रमुख र इन्जिनियरहरु सहभागी छन् । हिजोदेखि सुरु भएको कार्यक्रम जारी छ ।कोरोनाको जोखिम भएपनि कार्यक्रम पहिले नै तय भएको र सहभागीहरु पुष २८ गते नै चितवन आइसकेकाले रोक्न नसकिएको सूचना अधिकारी महर्जनले पुष्टी गर्नुभयो । ६० जनाभन्दा बढी सहभागी कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गरेर छुट्टाछुट्टै हलमा गरिएको उहाँको दाबी छ ।

कार्यक्रममा विद्यालय पुर्ननिर्माणका लागि ५ महिनादेखि भुक्तानी रकम दिन नसकिएको र भुक्तानीका लागि बजेट आइसकेकाले बजेट फर्छ्यौटका लागि अन्योलता नहोस् भनेर हालसम्मको प्रगति र भवन निर्माण कहिलेसम्म सकिसक्ने भन्ने विषयमा गोष्ठी आयोजना भएको हो ।

टिप्पणीहरू