बिल भन्दै कागजको टिपोट दिनेलाई ३ लाख जरिवाना

बिल भन्दै कागजको टिपोट दिनेलाई ३ लाख जरिवाना

कुनै पनि वस्तु तथा सेवा खरिद–बिक्री गर्दा बिल लिनु–दिनु अनिवार्य हो । तर कतिपय उपभोक्ता र ग्राहकले यस विषयमा ध्यानै दिँदैनन् वा भनौं बिल लिन आवश्यक नै ठान्दैनन् । बिक्रेताहरु पनि करछली गर्न सकेसम्म ग्राहकलाई बिल नदिइकन टार्न खोज्छन् । दिनैपरे कैयौंले सक्कली बिल चाहिँ नदिएर कागजमा हिसाब टिपेर दिने गरेको पाइन्छ ।

यसरी ग्राहकलाई सामान खरिद गरेको बिलको नाममा कागजको टिपोट दिएको फेला परेपछि नारायणगढको एउटा पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन टोली हिजो दिउँसो पुतलीबजारको गोरखनाथ किराना स्टोर्समा छिर्यो । पसलमा सञ्चालक लक्ष्मी काप्री थिइन् ।

अनुगमन टोलीले सुरुमै उनलाई ‘तपाईंहरुले बेच्ने घिउ देखाउनुस्’ भन्दा उनले आफ्नो पसलमा घिउ नभएको बताइन् । तर उनी बसिरहेकै पछाडिपट्टि ‘लक्ष्मी डेरी घिउ’ का केही डब्बा थिए । अनुगमन टोलीले ‘यो के हो त ?’ भनी सोध्दा काप्रीले त्यतिमात्रै भएको बताइन् । जेहोस्, उक्त घिउ ठिक नभएको भन्दै अब उप्रान्त त्यसलाई नबेच्न अनुगमन टोलीले सुझाएको छ ।

यसैक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो मोबाइलमा रहेको सोही पसलबाट ग्राहकलाई दिइएको कागजमा टिपिएको नक्कली बिलको फोटो देखाउँदै ‘यो के हो ? बिल हो ?’ भन्दा काप्री अलमलमा परिन् । सहायक प्रजिअले त्यहीँबाट वाणिज्य विभागका अधिकारीलाई फोन गरेर ‘यसरी ग्राहकलाई बिलको नाममा कागजको टिपोट दिने बिक्रेतालाई के कारबाही हुन्छ ?’ भनी सोधनी गरेपछि उताबाट तत्काल तीन लाख रुपैयाँ जरिवाना हुने बताइयो ।

त्यसपछि सहायक प्रजिअ शर्माले गोरखनाथ किराना स्टोर्सलाई ठाउँका ठाउँ तीन लाख रुपैयाँ जरिवाना सुनाउँदै सञ्चालकलाई आइतबार १२ बजे जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिए । अनुगमन टोलीले मूल्य उल्लेख नभएको कारण प्रानका पोटाटा बिस्कुट पनि उक्त पसलबाट जफत गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी गौतम मैनाली, जिल्ला प्रहरी कार्यालयका सई नवराज घिमिरेलगायत दुईजना पत्रकार पनि अनुगमन टोलीमा सहभागी थिए ।

त्यसअघि अनुगमन टोली भरतपुर–१२ को लक्ष्मी बिस्कुट उद्योगमा पुगेको थियो । ‘त्यहाँबाट लेबल विवरण नराखी सामानहरु उत्पादन तथा बिक्री–वितरण भइराखेको भन्ने उजुरी परेको थियो’, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख घननाथ अधिकारीले भने, ‘जे उजुरी थियो, त्यहाँ पुग्दा त्यही पायौं ।’ उद्योग सञ्चालनको मापदण्ड पनि पूरा नगरेको भेटिएपछि तत्काल त्यसको उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइएको छ ।

– अजय गोर्खाली

टिप्पणीहरू