जनआस्थाको समाचारको प्रभाव : चितवन प्रशासनद्वारा जुस र बिस्कुट जफत

जनआस्थाको समाचारको प्रभाव : चितवन प्रशासनद्वारा जुस र बिस्कुट जफत

चितवनमा प्रान कम्पनीका उत्पादनहरु स्थानीय प्रशासनले जफत गर्न सुरु गरेको छ । जनआस्थामा गत बिहीबार साँझ ‘स्वदेशीलाई सेक्ने, विदेशीलाई देख्दै नदेख्ने रु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा प्रान कम्पनीका जुस, बिस्कुटलगायत उत्पादनमा मूल्य नलेखिएको र व्यापारीहरुले मनपरी भाउमा बेचबिखन गरिरहेको विवरण उल्लेख थियो ।

सोही समाचारको प्रभावस्वरुप भोलिपल्टै शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन टोलीले नारायणगढ बजारबाट प्रानका जुस, बिस्कुटहरु जफत गरेको हो । मिलनरोडको बालकुमारीचोकस्थित गणेशलक्ष्मी फ्रुट जुस हाउसबाट प्रानका १ सय २८ वटा क्यान जुस र ५२ वटा लिटर जुस जफत गरिएको छ । लगत्तै पुतलीबजारमा रहेको गोरखनाथ किराना स्टोर्समा फेला परेका प्रानका दुई कार्टुन, सात प्याकेट बिस्कुट पनि प्रशासनले जफत गरेको छ ।

उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ भन्छन्, ‘यस्तोमा आयातकर्ता र उत्पादकलाई कारबाही हुनुपर्यो, साना व्यापारीलाई होइन ।’

बंगलादेशको राजधानी ढाकामा हेड अफिस तथा मुख्य कारखाना रहेको प्रान कम्पनीले आफ्नो उत्पादनमा मूल्य नलेख्दा यता बिक्रेताहरुलाई ग्राहक ठग्न सजिलो भएको हो । यस्तो अवस्थामा संयुक्त बजार अनुगमन समिति चितवनका संयोजक तथा सहायक प्रजिअ शर्माले सो विषयलाई गम्भीर रुपमा लिएर आवश्यक कारबाही अगाडि बढाउन लागेका हुन् । जफत गरिएका सामान के गर्ने रु भन्नेबारे प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर निचोड निकालिने उनले बताए ।

प्रानका ती सामान जफत गर्दै गर्दा शर्माले त्यहीँबाट अर्थ मन्त्रालयका अधिकारीसँग फोनमा कुरा गर्न भ्याएका थिए । कुराकानीमा अर्थ मन्त्रालयका अधिकारीबाट आफूलाई सम्बन्धित पसलेहरुबाट सामान खरिद गरेको बिल लिन र सप्लायर्स खोज्न भनिएको शर्माले जानकारी दिए । उक्त उत्पादनको इजाजत दिने वाणिज्य विभाग भएको हुँदा कसरी इजाजत दिइयो, भन्सार छलेर ल्याइएको हो वा भन्सारबाट पास गरेर ल्याइएको हो भन्नेबारे भन्सार विभागलाई आवश्यक पत्राचार गर्न अर्थ मन्त्रालयका अधिकारीहरुले सुझाएका छन् ।

‘कदम अगाडि बढाउँदै जानुस्, हामी पनि ती विभागहरुलाई निर्देशन दिन्छौं’, अर्थ मन्त्रालयका अधिकारीहरुले बताएको भनाइ उद्धृत गर्दै सहायक प्रजिअले जानकारी गराए ।

यता अनुगमन टोलीले पसलेहरुसँग खरिद बिल माग्दा तत्काल दुबै पसलेले देखाउन सकेका छैनन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी गौतम मैनाली, जिल्ला प्रहरी कार्यालय चितवनका सई नवराज घिमिरेलगायत पत्रकार पनि सहभागी थिए ।

– अजय गोर्खाली

टिप्पणीहरू