प्रदेश राजधानीकै विद्यार्थी दिसा पिसाब गर्न जंगलतर्फ

नेपालमा उच्च ओहोदा र अतिविशिष्ट पदमा रहेकाहरू हेलिकोप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, मुलुकको भविश्य र कर्णधार मानिने विद्यार्थीका लागि विद्यालयमा चर्पीसमेत हुँदैन ।

अहिले यस्तो समस्या कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतका विद्यार्थीले भोगिरहेका छन् । जिल्लाको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयका विद्यार्थी दिसा र पिसाब लाग्ने बितिक्कै जंगल पस्ने गरेका छन् ।

विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक कक्षा १ मा पढ्छिन् । उनको साथमा न झोला छ, न न्यानो कपडा नै । उनी चिसोले काँपिरहेकी थिइन् ।

अर्का विद्यार्थी लोकेन्द्र विकको पनि हालत उस्तै छ । उनीहरू दुई प्रतिनिधि पात्र मात्र हुन् । विद्यालयमा अध्यनरत १ सय ४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था लोकेन्द्र र हस्तनाको जस्तै छ ।

भेरी नदीको छेउमै रहेको उक्त विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ता चप्पल समेत छैन ।

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको वस्ती हो यो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो । यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाए पनि विद्यालयमा खानेपानी समस्या भने ज्यूँका त्यूँ छ ।

विद्यालयमा खानेपानीको धारा बनाउन वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल कामी बताउँछन् ।

विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ त्यसपछि थप अध्ययनको लागि चेपाङ गाउँ पुग्छन् । कक्षा ५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् ।

विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता अर्को कहालीलाग्दो छ । विद्यालय भवन जीर्ण छ । शौचालय झन् जीर्ण हुँदा विद्यार्थीहरू शौचालयतिर नगएर जंगलमा दुगुर्नुपर्ने बाध्यता बनेको हो ।

विद्यालयमा शौचालय र पानी नै हुँदैन नामजालीले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । त्यसकारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’

टिप्पणीहरू