माघे संक्रान्तिको अघिल्लो दिन वनतरुल खोज्नेको भीड

माघे संक्रान्तिको अघिल्लो दिन वनतरुल खोज्नेको भीड

माघे संक्रान्तिका लागि वनतरुल खोज्न खोटाङका जंगलमा स्थानीयको भीड लागेको छ । वनतरुल निकाल्न कुटो, कोदालो र साबेलसहित जंगलमा स्थानीयको भीड देखिएको हो ।

माघे संक्रान्तिमा घरतरुल, सख्खरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वनतरुललाई विशेष महत्व दिएपछि उनीहरु जंगल पसेका हुन् ।

माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता भएकाले आफूहरु जंगल पसेको उनीहरुले बताए । कतिपयले आफैंलाई र कतिपयले बिक्रीका लागि तरुल खोजेको बताएका छन् ।

घना जंगलमा पाइने वनतरुल निकाल्न निकै मिहेनत गर्नुपर्ने हुन्छ । वनतरुल जमिनको सतहबाट दुई÷तीन मिटर तलसम्म भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ ।

तीन दिन अघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेको र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटारका रहरमान राईले बताए ।

कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो हुने गरेको छ ।

टिप्पणीहरू