‘बुस्टर डोज’ पहुँचवालाको लागि मात्र हो ? « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

‘बुस्टर डोज’ पहुँचवालाको लागि मात्र हो ?

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार २०:२९


मुलुकका आधा जनसंख्या कोभिडको पहिलो मात्रा खोपको डोज लगाउनबाट वञ्चित रहेको बेला पहुँचवालालाई भित्रभित्रै बुस्टर डोज दिन थालिएको धेरै भइसकेको छ । सरकारले माघको पहिलो सातादेखि अंग्रपक्तिमा खटिनेलाई बुस्टर डोज दिने भने पनि पहुँचवालाहरुले महिनौंदेखि लुकीछिपी बुस्टर डोज लगाउन थालेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ४० प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप प्राप्त लगाइसकेपछि मात्र बुस्टर डोज दिन थाल्ने बताएको छ । मुलुकको कुल जनसंख्यामध्ये हिजोसम्म २ करोड ७१ लाख ५५ हजार सात सय २८ जनाले खोप लगाएका छन् ।

उक्त तथ्याङ्क हेर्दा कुल जनसंख्याको ५० दशमलब ९ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने पूर्ण खोप लगाउने ३८ दशमलब ५ प्रतिशत मात्र छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार लक्षित जनसंख्याको ७८ प्रतिशतले पहिलो मात्राको खोप पाएका छन् ।

त्यस्तै, ५९ प्रतिशतले दोस्रो मात्राको डोज लगाएको पवक्ताको दाबी छ । पछिल्लो समय दोस्रो मात्राको खोप पाइसकेकाले पनि पहिलो मात्राको खोप भन्दै बुस्टर डोज लगाएका धेरै वटा प्रमाण प्राप्त भएको छ । तर, मन्त्रालयका सहप्रवक्ताले भने यसबारे आफुलाई केही जानकारी नभएको बताउनुभएको छ । ‘अंग्रपक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णयचाहिँ भएको हो, अरु थाहा छैन,’ प्रवक्ताको सरकारी धारणा हो यो ।

पछिल्लो केही समयदेखि सरकारी अस्पतालहरुमा पहिलो डोज लगाउने नाममा भित्रभित्रै बुस्टर डोज दिइएको बताइन्छ । पँहुचवालालाई यसरी अवैधानिक तरिकाले बुस्टर डोज दिँदा अरु सर्वसाधारण भने मारमा परेका छन् । कोही पहिलो मात्राको डोज लिनको लागि बिहानदेखि लाइनमा बसेका छन् भने कसैले भित्रभित्रै बुस्टर डोज लिन थालेपछि सरकारको लक्ष्य र कार्यान्वयनको अवस्थाको वास्तविकता बाहिरिएको हो ।

पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी लगायत अंग्रपक्तिमा काम गर्नेहरूलाई समेट्ने भनिएको थियो । तर, उनीहरुले नै बुस्टर डोज नपाएको बेला अरुले धमाधम लुकेर र लुकाएर खोप लगाइएको छ । लगाएको छ महिनापछि खोपको प्रभाव कम हुँदै जाने भएकाले विज्ञहरूले खोपको ‘बुस्टर’ मात्रा दिन आवाज उठाएका हुन् ।

केही दिनयताको बढ्दो कोरोना संक्रमण दरलाई मध्यनजर गर्दै अति आवश्यक पर्नेलाई बुस्टर डोज लगाउने भनिएता पनि त्यसअघि नै पहुँचवालाले अनाधिकृत रुपमा तेस्रो डोज लगाएका हुन् ।  सरकारको नीतिअन्र्तगत रहेर खोप लगाउनुपर्ने ठाँउमा पहुँचको आधारमा खोप लगाईंदा सर्वसाधारणले सरकारमाथि आशंका गरेका हुन् ।

राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर पुसभित्र लक्षित सबैलाई खोप लगाउने भनिए पनि उक्त कार्य सम्पन्न भएको छैन । भलै पहिलो खोप भनेर लगाइएका तेस्रो खोपको सम्बन्धमा सरकारले बुस्टर डोजको आधिकारिकता नदिनेबारेमा प्रष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !