पाखोबारी बन्यो आम्दानीको गतिलो स्रोत

पाखोबारी बन्यो आम्दानीको गतिलो स्रोत

खेर गइरहेको उराठलाग्दो पाखाबारी तेह्रथुमका किसानलाई आम्दानीको गतिलो स्रोत बनेको छ । खाली जमिन र पाखाबारीमा लगाइएको अम्रिसो खेतीले मनग्गे आम्दानी दिन थालेपछि पाखाबारी आय–आर्जनको माध्यम बनेको हो ।

पशु चौपायालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूका लागि अम्रिसो खेती प्राथमिकतामा परेको हो । राम्रो मूल्य पाएपछि हर्षित बनेका किसानहरू यतिबेला अम्रिसोको फूल थुत्न र बिक्री गर्ने हतारमा छन् ।

अम्रिसो बेचेर राम्रो आम्दानी लिँदै आएको लालीगुराँस–५ दागपाका रमेश बस्नेतले बताए । उनी भन्छन्, ‘खेती लगाएपछि यसलाई खासै हेरचाह गर्नु पर्दैन, फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो । यसको फूल बिक्री नभएको अवस्थामा गाईवस्तुलाई घाँस हुन्छ, यो बहुउपयोगी खेती हो ।’

बस्नेतजस्तै आठराईका गोपाल ढकालले पनी अम्रिसो बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका छन् । ढकालले तरकारी खेतीसँगै यसको पनि खेती गर्दै आएका छन् ।

तेह्रथुमको ग्रामीण भेगमा यतिबेला अम्रिसोको फूल प्रतिकिलो एक सय २० रुपैयाँले बिक्री भइरहेको छ । गत वर्ष अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्रिसो यो वर्ष पहिलो सिजनमा एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् ।

अम्रिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको किसानहरुको भनाइ छ । यहाँका किसानले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्रिसो खेती गर्दै आएका छन् ।

टिप्पणीहरू