एक्लो ज्यानलाई भ्याइनभ्याइ

एक्लो ज्यानलाई भ्याइनभ्याइ

नीति र नेतामात्रै राम्रो भएर नहुँदो रहेछ, थिति नबसेपछि पार्टी भद्रगोल हुन्छ भन्ने कुरा नवगठित नेकपा (एकीकृत समाजवादी) मा पनि देखिन्छ ।

‘पब्लिक क्रेज’ भएका नेता कम हुँदा अहिले उक्त पार्टीका देशव्यापी कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एक्लै दौडिनुपर्ने स्थितिमा हुनुहुन्छ । कतिपय नेताले सुझाव दिएका छन्, ‘यसरी हुँदैन । अब प्रदेशदेखि तलसम्मै प्रशिक्षक उत्पादन गर्नुपर्छ, कामलाई विकेन्द्रित गर्नुपर्छ ।’

जिल्लाहरूबाट कुनै कार्यक्रम आयोजना गरिने भएपछि पहिलो खोजी हुन्छ, अध्यक्ष माधव नेपालको । दोस्रो खोजीमा पर्छिन्, सहरी विकास मन्त्रीसमेत रहेकी सचिव रामकुमारी झाँक्री । त्यसपछिका तर्कशील नेता हुन्, विरोध खतिवडा । उनी पनि स्वास्थ्य मन्त्री छन् ।

राजेन्द्र पाण्डे निक्कै चिनिएका नेता, तर उनी मुख्यमन्त्री भएपछि पार्टी काममा लाग्ने कुरै भएन । मन्त्री भएकै कारण प्रेम आले र किसान श्रेष्ठहरू आमरूपमा परिचित हुन थालेका छन् । त्यसो त मुकुन्द न्यौपाने, केदार न्यौपाने, प्रमेश हमाल, बेदुराम भुषालजस्ता पुरानादेखि पछिल्लो छिमलका गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, राजेन्द्र राईहरू पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा छन् । यी सबैका अगाडि अरुभन्दा जुनियर रामकुमारी झाँक्रीकै खोजी बढी हुन्छ । तर, मन्त्री भएका कारण उनीसँग समय छैन ।

त्यसमाथि भर्खर बनेको पार्टीमा विधि र थिती नबस्दा अनेकन विसंगति देखिन्छ । केही दिनअघि अध्यक्ष माधव नेपाललाई भेट्न पुगेका दोलखाली कार्यकर्ताले जिरीमा आयोजित एउटा कार्यक्रमबारे फेसबुक स्ट्याटसको स्क्रिन सट पेश गरे । भएको यस्तो रहेछ, स्वास्थ्य मन्त्री विरोध खतिवडाको समय मागियो केन्द्रीय सदस्य चुनु केसीबाट । केन्द्रीय सदस्य हुनुअघि विरोधले कहिल्यै नचिनेकी चुनु को हुन् भनेर उनले जिरी पुग्दासम्म पत्तो पाएका थिएनन् ।

केन्द्रीय सदस्यले भनेपछि पार्टी कमिटी र नेताहरूले पक्कै भेट्लान् र कुरा होला भन्ने थियो । तर, जिरीमा एकजना पनि परिचित नेता–कार्यकर्ता भेटिएनन् । मन्त्रीबाट जिरी अस्पतालको निरीक्षण भयो, त्यसपछि बजार बाहिरैतिरको एक होटलमा खाजापानीको व्यवस्था गरियो । मानौँ, मन्त्री हैन, ट्रेकिङमा हिँडेको पर्यटक त्यहाँ छ ।

चुनुले फोटो खिचेर फेसबुकमा हाल्न भ्याइन् । लगत्तै विरोधलाई फोन जान थाल्यो, ‘के हो ताल ? तपाईं कहाँ, कोसँग जिरी पुग्नुभएको ? न सिडिओलाई, न त जिल्ला पार्टीका फलाना–फलाना मान्छेलाई – आफ्नो पार्टीको मन्त्री आएकै थाहा छैन !’ यति कुरा सुनेपछि बसेको ठाउँबाट विरोध ज¥याकजुरुक्क उठे । ‘लौ बर्बाद भो’, ‘फर्किहालौं–फर्किहालौँ’ भन्दै कराउन थाले ।

उनै चुनुले हिजो पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको फोटो फेसबुकमा हाल्दै लेखिन्, ‘मेरा साना दुःखले आज्र्याको मुलुक हैन, सबैलाई चेतना भया, राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको सबैलाई शुभकामना !’ जबकि पृथ्वी जयन्तीलाई सरकारले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस’ को मान्यता नै दिएको छैन । तर, सत्तारुढ पार्टीकी केन्द्रीय सदस्यले फेसबुकमै लेखिदिएपछि हिजो दिनभरि एकीकृत समाजवादीका नेताहरूको रन्को छुट्यो ।

यी चुनु मनमोहन अस्पतालमा कार्यरत थिइन् । पति सरकारी सेवामा उपसचिव छन् । राजेन्द्र पाण्डेको सिफारिसमा केन्द्रीय सदस्य भइन् । केन्द्रीय सदस्य हुनुअघि कुनै पनि कमिटीमा काम गरेको विवरण भेटिँदैन । भर्खर पार्टी निर्माणको हतारोले यस्ता अरु पनि कमजोरी भएको उक्त पार्टीका नेताहरू स्वीकार्छन् ।

त्यसो त पार्टीभित्र सबै राम्रा र सफा नियतका मान्छे हुन्छन् भन्ने छैन । यदाकदा अध्यक्षलाई खुइल्याएर आफू पुल हाउस बन्ने मान्छेहरू समाजवादीमा पनि देखिन थालेका छन् । अध्यक्ष माधवकै कानमा आयआर्जनको काममा कोही–कोही लागेको सूचना पुगेको छ ।

त्यसमाथि माधव नेपाल सहभागी हुनुभएको कार्यक्रममा मान्छेहरूको सहभागिता देखेरै पार्टीको पक्षमा कति मान्छे छन् भन्ने हिसाब गर्न नमिल्ने एकजना नेताको ठहर छ । किनभने, उहाँ गएको कार्यक्रममा कतिपय मान्छे हेलिकोप्टर हेर्न पुगेका हुन्छन्, कतिपय मान्छे जुनसुकै विचारको भए पनि माधव नेपालको अनुहार प्रत्यक्ष हेरौँ भनेर पनि पुग्छन् ।

ती नेताले ०५६ को एउटा चुनावी घटना सम्झाए । माधव रौतहटमा हुनुहुन्थ्यो । हेलिकोप्टर चढेर बर्दिया पुग्नुभयो । त्यहाँ निकै ठूलो मास भेला भयो । पार्टी विभाजित अवस्थामा थियो । मालेबाट वामदेव गौतम र एमालेबाट गोविन्द कोइरालाबीच प्रतिस्पर्धा हुँदै थियो तर कांग्रेसकी काशी पौडेलले चुनाव जितिन् ।

त्यहाँको भीड देखेर माधव खुशी हुनुभयो । सँगै भएका सहयोगीले भने, ‘रमिता हेर्न आएको मान्छेलाई गनेर राजनीति चल्दैन ।’ हुन पनि उक्त चुनावमा एमालेले हा¥यो ।

टिप्पणीहरू