पत्रकारका नाममा उठ्तीपुठ्तीको प्रमाण

पत्रकारका नाममा उठ्तीपुठ्तीको प्रमाण

पत्रकारले पेशाको आडमा कमाऊ धन्दा चलाउँछन् त भनिन्थ्यो नै, अब भने पत्रकार महासंघकै नाममा त्यस्तो धन्दा खुलेआम बन्न पुगेको छ । ‘होइन–होइन’ भन्दाभन्दै पनि महासंघका नाममा बजारबाट लाखौँ रूपैयाँ उठाएर ऊसँग सहकार्य गर्दैै ‘ड्रिम हाइ नेपाल’ नामक संस्थाले आइतवार मिडिया अवार्ड आयोजना गरेरै छाडेको छ ।

विभिन्न १९ विधामा ५ पत्रकारका दरले मनोनयन सूची सार्वजनिक गरिएको थियो । तर, पत्रकार महासंघले गरेको साझेदारीकै विषयमा नेतृत्वबीच कुरा नमिलेपछि अधिकांश नोमिनिजले अवार्ड बहिष्कार गरेका छन् ।

विवादको विषय

आयोजक ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसी गुल्मी जिल्लाका बासिन्दा हुन् । उनले ‘नेपालको प्रतिष्ठित मिडिया अवार्डप्राप्त व्यक्ति’ को परिचय बनाएर अमेरिका छिर्न सजिलो हुन्छ भन्दै कतिपय पत्रकारसँग आर्थिक लेनदेन नै गरेको आरोप छ । कमलका दाइ खगेन्द्र अमेरिकावासी गने मानिएका आप्रवासी हुन्, जसले सर्वोच्च अदालतमा समेत बहस गर्ने हैसियत राख्छन् ।

कमलले दाइकै आडमा अमेरिका मान्छे पठाउने उद्देश्यसाथ अवार्ड कार्यक्रम आयोजना गर्न लागेको शंका भएर त्यसमा पत्रकार महासंघ संस्थागत रूपमा साझेदार हुने कि नहुने भन्ने विवाद चल्यो । सो क्रममा अध्यक्ष विपुल पोखरेल आयोजकसँग निकट रहे, तर वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट र महासचिव रोशन पुरीहरू त्यसको विरुद्धमा गए ।

महासचिवले असहमति त जनाए, तर गृहजिल्ला कपिलवस्तुतिर बिहेबारीको काममा रहेका उनकै डिजिटल हस्ताक्षरयुक्त पत्रहरू विभिन्न प्रायोजककहाँ पठाइयो र पैसा तोकेर १०–१० लाख रूपैयाँ मागियो । महासचिव पुरी माओवादीसम्बद्ध पत्रकार हुन् । कार्यक्रमका प्रमुख अतिथिको रूपमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम प्रचार गरिएको थियो । तर, अन्तिममा उनी गएनन् ।

यसअघि प्रेस काउन्सिल अध्यक्ष नियुक्तिका क्रममा विपुलको कीर्ते सिफारिस प्रस्तुत गरिएको घटना ताजै छ । अहिले अवार्डमा पनि महासचिव र कोषाध्यक्षका हस्ताक्षर कीर्ते गरिएको बताइन्छ । त्यस्तो हस्ताक्षरयुक्त प्रस्तावहरू नेपाल टेलिकम, काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड, नेपाल वायुसेवा, नेपाल आयल निगमसहितका सम्भावित प्रायोजकहरूलाई प्रेषित गरिएको थियो ।

खासमा यस्तो कार्यक्रम आयोजना गर्न कमल जिसीले गोविन्द आचार्यको कार्यकालमै प्रयास गरेका थिए । यसचोटि सीधै अध्यक्ष विपुलकहाँ पुगेनन्, उपाध्यक्ष बिष्ट र महासचिव पुरीमार्फत प्रयास गरे । तर, सबैले विपुलतिर देखाएपछि मिडिया सेलिब्रिटी दिनेश डिसीसहितको बसाइ भयो । अर्थात्, विपुलले कमलको कुरा स्वीकार गरे ।

त्यसैले सम्झौतामा हस्ताक्षर गर्न महासचिव पुरीलाई आग्रह गरे । उनले मानेनन् । त्यसपछि कोषाध्यक्ष कलेन्द्र सेजुवाललाई विभिन्न शाखासँग समन्वय गर्ने एउटा चिठीमा हस्ताक्षर गराइयो र महासंघको खातामा एक लाख रूपैयाँ हालियो । खासमा यो अवार्ड कात्तिकमा गर्ने भनिएको थियो ।

महासचिव पुरीले आफ्नो हस्ताक्षर विद्युतीय माध्यमबाट दुरूपयोग भएको भनी प्रहरीको साइबर क्राइम व्युरोमा जाहेरी दिन खोजे । तर, विपुलमार्फत कमलले विभिन्न ठाउँमा पठाइएका चिठीहरू फिर्ता लिन्छु भनेपछि पुरीले जाहेरी दर्ता गरेनन् । त्यसलगत्तै फेरि पत्रकार सम्मेलनको निम्तोमा महासचिवको हस्ताक्षर कीर्ते भयो । उनी खुट्टा भाँचिएर बुटवलमै थिए । गोकर्ण बिष्टका पिए मदन खनालमार्फत निम्तो फिर्ता ल्याए ।

यस्तो अनुचित कार्यमा महासंघको संलग्नता अनुचित हुन्छ भनेर कुरा उठिरह्यो । तर, विज्ञप्ति वा सामाजिक सञ्जालमार्फत अस्वीकार गर्ने कुरामा भने कोही अग्रसर भएनन् । कसैले अस्वीकार गरेको कुरा सार्वजनिक गरौँ भन्दा अध्यक्षले रोकिरहे । पदाधिकारीहरूको दबाब थेग्न नसकेपछि उनले प्रायोजकबाट आएको मध्ये महासंघलाई दिने भनिएको तीन लाख रूपैयाँ नलिने भने । तर, आइसकेको पैसा दिन नपरेपछि उल्टै आयोजक कमललाई फाइदा नै भयो ।

आइतबार मिडिया अवार्डको आयोजना गरियो । घोषणा गरिएकामध्ये कान्तिपुर र नयाँपत्रिका सहितमा संलग्न अधिकांश पत्रकारले अवार्ड बहिष्कार गरिसकेका थिए । अनलाइनखबरका विजय आवाजसहितका केही चलचित्र पत्रकारले भने अवार्ड स्वीकार गरे ।

टिप्पणीहरू