अब्दुल्लाहको आक्रोश : लिगका खेल हेर्न रंगशाला जाँदिन

अब्दुल्लाहको आक्रोश : लिगका खेल हेर्न रंगशाला जाँदिन

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हाल जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदानमा गएर नहेर्ने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर माघ १५ र १८ गते दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबलेसमेत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिइएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा शतप्रतिशत विश्वासमा खेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा शतप्रतिशत नभन्नेले राष्ट्रिय टोलीमा पनि शतप्रतिशत भन्दैन,’ उनले लेखेका छन् ।

यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकी महाद्विपको प्रतिद्वन्द्वी मौरिसससँग खेल्न ३४ जना खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् ।

जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको उक्त हर्कतपछि एन्फालाई पत्र नै लेखेको छ ।

जारी लिगको नवौं चरण आजबाट सुरु भएको छ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियोगिता हुने खेल तालिका छ ।
प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फुटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताएका छन् ।

‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई शतप्रतिशतको आधारमा खेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदानमा नगई लिग हेर्ने बताए ।

‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरणको समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् ।

टिप्पणीहरू