महासंघ छाडेर बाहिरिएकी बाला बैठकमा बसेपछि बबाल

महासंघ छाडेर बाहिरिएकी बाला बैठकमा बसेपछि बबाल

पार्टी राजनीतिमा सक्रिय हुने भन्दै नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदबाट राजीनामा दिएकी बाला अधिकारी महासंघको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि लफडा भएको छ । अधिकारीको सहभागितालाई लिएर केन्द्रीय सदस्यहरुले चर्को असन्तुष्टि जनाएका कारण केहीबेर बैठक नै अवरुद्ध भएको हो ।

कपिलवस्तुको तिलौराकोटमा आज बिहानबाट सुरु भएको बैठकको शुरुमै केही केन्द्रीय सदस्यले राजीनामा दिएर हिँडेकी अधिकारीको उपस्थितिलाई लिएर प्रश्न उठाएका थिए । उनी कुन हैसियतमा बैठकमा आएको ? भन्दै सदस्यहरुले कडिकडाउ कुरा उठाएपछि बैठक केहीबेर भाँडिएको थियो ।

महासंघको विधानले राजनीतिक दलका कार्यकर्ता महासंघको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । विधानको सोही व्यवस्थाका कारण काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा अधिकारीले महासंघको जिम्मेवारी छाडेर आफू पार्टी राजनीतिमा आवद्ध हुने घोषणा गरेकी थिइन् ।

महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनी केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने चर्चा पनि थियो । तर, उनी केन्द्रीय सदस्य भने बनिनन् । राजीनामा दिँदा अधिकारीले महासंघको विधान र आचारसंहिता पालना गर्नु आफ्नो प्रमुख कर्तव्य हुने कुरा हेक्का रहेको उल्लेखसमेत गरेकी थिइन् ।यसअघि प्रदेश समिति तथा जिल्ला, शाखाका केही सदस्यले पार्टी प्रतिनिधि बनेपछि महासंघबाट राजीनामा दिएका थिए । केन्द्रीय महासचिव रोशन पुरीले पनि पार्टीको प्रचार विभाग सदस्य पद अस्वीकार गरेका थिए ।

तर, राजीनमा दिएर काँग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि बनेकी अधिकारी आज टुप्लुक्क बैठकमा पुगेपछि सदस्यहरुले प्रश्न उठाएका हुन् । उनी कुन हैसियतका साथ आजको बैठकमा उपस्थित भएको भन्नेबारे कुरा उठेको केन्द्रीय सदस्य सुनिल खड्काले बताए ।

यता, महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ । खड्काका अनुसार विवादास्पद मिडिया अवार्डमा पोखरेलको नाम जोडिएकोबारे सदस्यहरुले छानबिनको माग गरेका छन् । मिडिया अवार्डका नाममा अध्यक्षले ठगीधन्दा चलाएको भन्दै अधिकांश केन्द्रीय सदस्यले उनको अध्यक्षतामा बैठक बस्न नसक्ने अडान लिएका थिए ।

प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट महासंघमा प्रतिनिधित्व गर्ने सबै सदस्यले पोखरेलको अध्यक्षतामा बस्ने बैठक अस्वीकार गर्ने चेतावनी दिएपछि पदाधिकारीहरुले अलग्गै छलफल गरेका थिए । त्यसपछि असन्तुष्ट पक्षसँग १० बुँदे सहमति गरेर अहिले बैठक सुचारु गरिएको छ ।

अहिले बैठक सुचारु भएको केन्द्रीय सदस्य खड्काले जानकारी दिए । उनका अनुसार कमजोरी सच्याउने प्रतिबद्धता अध्यक्षबाट आएपछि असन्तुष्ट खेमा उनकै अध्यक्षतामा बैठक बस्न तयार भएको हो ।

टिप्पणीहरू