कोरोना महामारीबीच माघे संक्रान्ति मनाईंदै

कोरोना महामारीबीच माघे संक्रान्ति मनाईंदै

कोरोना महामारीको जोखिमबीच मुलुकभर आज माघे संक्रान्ति मनाईंदै छ । जाडोयाममा मनाइने यो चाड गत वर्ष र यो वर्ष कोरोनाका कारण केही खल्लो भएको छ ।

माघे संक्रान्तिलाई विशेषतः थारु समुदायको चाडपर्वको रुपमा लिइन्छ । नेपालमा माघे संक्रान्तिको दिन सार्वजनिक बिदा समेत दिइने गरिएको छ । माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिन्छ । यो नेपालको एउटा प्रमुख चाड पनि हो ।

ज्योतिषशास्त्रअनुसार आजका दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ । तिलुवा संक्रान्तिको नाम दिइएको यो दिनलाई सबैले आफ्नो धर्म र रितिरिवाज अनुसार आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाउने गर्दछन् । नेपाली भुभागमा बसोबास गर्ने ब्राह्मण, क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर, थारुलगायत सबै जातिले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्दाभिन्दै विशेषताका साथ मनाउने गरेको पाइन्छ ।

माघे संक्रान्तिको केही दिन अघिदेखि नै मुलुकका विभिन्न भुभागका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा ‘तिलासक्रायत’ भनिने यो पर्व आजै परेको छ ।

थारूवस्तीमा आजका दिन माछाको सिद्रा, खसी, हाँस, कुखुराका परिकारहरु बनाइन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू जातिहरुले यो पर्वको निकै चहलपहलका साथ मनाउने गरेको छन् । छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ ।

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघे संक्रान्ति बडो हर्षोल्लासका साथ मनाउने गरेका छन् । पहाडी र हिमाली भेगमा बसोबास गर्नेले पनि माघे संक्रान्ति उत्साहका साथ मनाउने गरेको छन् । बिहान उठेर नुहाइधुवाई गरि, चोखो कपडा लगाई, ब्राहमणलाई शिदा दिनु यो दिनको विशेषता हो ।

यस दिन कतिपयले आफ्नो घरमा रुद्री पुजासमेत लगाउने गरेको छन् । घरघरमा घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु बनाइन्छ । सबैजसो परिकार घ्यु र सख्खरमा पकाइने गरिएको छ ।

आत्मीय ज्ञान गुरु निलम ढकालका अनुसार यो वर्ष माघे संक्रान्ति एकदमै राम्रो साइतमा परेको छ । माघे संक्रान्तिको धेरै धार्मिक महत्व रहेको उहाँको भनाइ छ । माघे संक्रान्ति शनिबार परेका यो दिन धार्मिक आस्था राख्नेले निकै नै राम्रो फल पाउछन् ।

माघे संक्रान्तिको बिहान उठेर नदीमा मकर स्नान गरेर दान, कर्मजस्ता कार्यहरु गरिन्छन् । मकर संक्रान्तिमा तरुल, पिंडालुलगायत शरीरलाई तातो बनाउने खानेकुराहरु खाइन्छ । अन्न भने कमैले मात्र खाने उहाँ बताउनुहुन्छ ।

माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, सेतीवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । कतिपय स्थानहरुमा यस दिन मेलासमेत लाग्ने गरेको छ । तर, कोरोना संक्रमणको बढ्दो जोखिमका कारण यो वर्ष अधिकांश मेलाहरु स्थगित गरिएको छ ।

टिप्पणीहरू