गोरु पीडामा रमाउनेलाई नमीठो खबर

गोरु पीडामा रमाउनेलाई नमीठो खबर

हाम्रो समाजमा एकथरि परपीडक छन्,अर्कालाई पीडा दिएर खुशी हुने । अर्काको दुःखमा रमाउने,तमाशा हेर्ने,मनोरञ्जन लिने । इतिहासमा हेर्दा राजा रणबहादुर शाह पनि पशुपतिमा गोरु जुधाएको हेर्न आउँथे भनिन्छ । यस्तै पशुहिंसामा रमाउनेलाई एउटा नमीठो समाचार आएको छ –गोरुजुधाइ स्थगित ।

हिउँदमा गोठाला वा गोरुधनीहरू काम नपाउँदा खेतमा चराउन लगिएका गोरु जुधाएर बाजी थाप्ने वा रमाइलो मान्ने चलन हाम्रा पहाडतिर पहिलेदेखिकै हो । नुवाकोटको तारुका यस्तो ठाउँ हो जसलाई माघेसङ्क्रान्तिमा गोरु जुधाइस्थलका रूपमा पनि चिनिन्छ । बझाङ्गी राजाका भाञ्जा भनिएका जयपृथ्वीबहादुर सिंहलाई मनोरञ्जन दिन त्यसताका उनका मामाहरुले तारुकामा शुरु गरेको भनिएको गोरुजुधाइ केही वर्षदेखि संस्थागत भएको छ ।

चन्दनीस्थित कटहरबोट वा ठूलोपाटामा मेलाका रुपमा गोरु जुधाउने गरिएको छ । हरेक वर्ष राजनीतिकर्मी वा मन्त्रीको प्रमुख आतिथ्यमा हुने सो मेला भर्न नुवाकोट वरपर काठमाडौँ, धादिङ, चितवन, रसुवा आदि जिल्लाबाट हजारौँ मानिस तारुका पुग्ने गर्छन् । काठमाडौँबाट अन्तर्राष्ट्रियस्तरका मिडियाको घेरा लाग्छ । गोरुजुधाइ पर्यटकीय हिसाबले पनि प्रवर्द्धन हुँदै गएको छ । माघेसङ्क्रान्ति जस्तो सांस्कृतिक पर्वमा हुने यस खेलले नुवाकोटलाई चर्चित बनाइदिएको छ ।

“पर्यटन प्रवर्द्धनमा असर पुग्ला भन्ने डरले दयालु प्रवृत्तिका मानिस र पशुबलि विरोधी संस्थाहरू मौन बसेका मात्र हुन्, भित्रभित्र तिनको पनि यसमा विरोध छ । “

प्रतियोगिताका रुपमा गरिने जोरुजुधाई कार्यक्रममा विभिन्न गोरुधनीका २५–३० हल गोरु जुधाइन्छ र जित्ने–हार्नेलाई रकम पुरस्कार र प्रमाणपत्र दिने गरिन्छ । प्रतियोगिताका क्रममा कुनै गोरु मरे वा सिंग भाँचिए वा घाइते भएमा बीमाको व्यवस्था पनि छ ।

निर्दोष पशुलाई जुधाएर मनोरञ्जन लिने यो चलन यस पटक कोरोनाले स्थगन भएको खबर आएको छ । नाङ्गा गोरुहरु फुँफुँ गर्दै एकले अर्काले धकेल्दै लड्दै गर्दा कतिका जीउमा घाउ लाग्छन् भने कतिका सिङ भाँचिने गर्छन् । ठूलाठूला लाललाल आँखा गरेर ठूलो जोखिमका साथ लडिरहेका गोरुहरूको सङ्ग्राम हेरी मानिसहरू हाहा र हुुहु गर्दै रमाइरहेका हुन्छन् । कोही चिच्यारहेका हुन्छन् त कोही ताली ठोकिरहेका । गोरुहरू जति जुध्छन्, मानिसका परपीडा मनोरञ्जन ग्रन्थी उत्तिकै सक्रिय भई वातावरण नै कोलाहलमय भइदिन्छ । पर्यटन प्रवर्द्धनमा असर पुग्ला भन्ने डरले दयालु प्रवृत्तिका मानिस र पशुबलि विरोधी संस्थाहरू मौन बसेका मात्र हुन्, भित्रभित्र तिनको पनि यसमा विरोध छ ।

कोरोनाका कारण गोरुमेला स्थगन हुँदैमा त्यहाँ सहभागी हुन नपाएका मानिसमा रहेको हिंसात्मक भावना त्यसै हराउने होइन । यसपालि नभए अर्काे वर्ष फेरि होला । युरोपको स्पेन जस्तो ठाउँमा त बुलफाइट हटेको छैन भने नेपाल जस्तो गरीब र अविकसित मुलुकमा यस्तो पर्व हट्न समय लाग्ला । मुलुकले १० वर्षे सशस्त्र द्वन्द्व बेहोर्दा राजतन्त्र र हिन्दू राज्यको अवसानबाहेक अरू फाइदा त पाउन सकेन । गोरुजुधाइ मेलाको विकल्पतिर पर्यटनप्रेमी र व्यवसायी वा मेला आयोजक र रमितेहरूले पनि सोच्ने बेला चाहिँ आयो है ।

–अनामिका उपाध्याय

टिप्पणीहरू