नाबालिका करणी गर्नेलाई जन्मकैद र साढे ६ लाख तिराउने फैसला

नाबालिका करणी गर्नेलाई जन्मकैद र साढे ६ लाख तिराउने फैसला

रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ घर भई रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्दै आएका २२ वर्षीइ यमप्रसाद भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो । भट्टराईले गत वर्ष पुस १८ गते खेलिरहेकी नाबालिकालाई आफ्नो घरको कोठामा लगेर करणी गरेका थिए ।

पीडित नाबालिकाको परिवारको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । प्राप्त प्रमाणहरूको आधारमा भट्टराईले नाबालिकालाई मोबाइल खेल्न दिने बहानामा आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको हो ।

भट्टराईले मुलुकीसंहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) र उपदफा (३) को देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको छ । उक्त कसुर वापत प्रतिवादी भट्टराईलाई सोहीसंहिताको दफा २१९ को उपदफा (३) को देहाय (क) बमोजिम जन्मकैदको फैसला गरिएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

सोही संहिताको दफा २१९ को उपदफा (३) (क) को (यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८) देहाय (क) बमोजिम प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ । पीडितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति वापत ५० हजार तोकिएको छ । अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले २८ सय कोषमा बुझाउनुपर्ने अदालतको फैसलामा भनिएको छ ।

फैसलापछि सञ्चारकर्मीसँगको कुराकानीमा पीडित बालिकाकी आमाले न्याय पाएको महशुस भएको बताएकी छन् ।

टिप्पणीहरू