गुण्डा नाइके झिंगेको कर्तुत : विरोधीलाई पन्छाउन सुपारी दिएर खुकुरी प्रहार

गुण्डा नाइके झिंगेको कर्तुत : विरोधीलाई पन्छाउन सुपारी दिएर खुकुरी प्रहार

गत असोज ७ गते सिन्धुपाल्चोक जिल्लको जुगल गाउँपालिका–३ स्थित गुम्बा गाउँमा स्थानीय पासलाल तामाङमाथि नातामा ज्वाईं पर्ने व्यक्तिले खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट गम्भिर घाइते पासलाललाई हेलिकप्टरमार्फत् उद्धार गरी उपचार गरिएको थियो ।

तर उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले आयुस तामाङलाई हिजो मात्र काठमाडौं गोकर्णेश्वरस्थित माँकलबारी नजिकैको पुलबाट पक्राउ गरि सिन्धुपाल्चोक पुर्याएको छ ।

तामाङले आफूलाई सिन्धुपाल्चोककै गुण्डा नाइके सञ्जय लामा उर्फ ‘झिंगे’ ले सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको स्वीकार गरेका छन् । घटना लगतै फरार आयुसले आफूलाई ‘झिंगे’ ले सुपारी दिएर कुटपिट गर्न लगाएको बताउँदै भने, ‘पासलालको आँखामा खुर्सानी छर्केर अचेत हुनेगरी कुटेँ ।’

आयुसले घाइतेका आफन्तसँगको भिडियो कुराकानीमा घटना आफूले गराए पनि त्यसको योजनाकार सञ्जय लामा नै रहेको बताएका छन् । स्रोतका अनुसार फरार आयुसलाई सञ्जयले नै संरक्षण दिएर राखेका हुन् ।

काठमाडौंको बौद्ध तथा जोरपाटी क्षेत्रमा गुण्डागर्दीमा लागेका लामालाई प्रहरीले कारवाही गर्न थालेपछि भूमिगत भएका थिए । त्यसपछि उनले सिन्धुपाल्चोकलाई सेल्टर बनाएर हाइड्रो तथा क्रसरमा लगानी गर्दै आएका छन् ।

गुण्डागर्दीबाट आर्जेको रकमलाई उनले सोही काममा प्रयोग गर्ने गरेको उनैका सहकर्मीहरुले बताएका छन् । स्थानीय क्षेत्रमा सञ्जयले आफ्नो समूह बनाएर गुण्डागर्दी थालेपछि स्थानीयले विरोध गरेका गिए । त्यसैको झोंकमा लामाले पासलालमाथि आक्रमण गर्न लगाएका थिए ।

यसो भन्छन् घाइते पासलाल :

म सामान किनेर घर फर्कंदै थिएँ । अनि नातामा ज्वाईं पर्ने व्यक्तिले भेटेर केही समय कुराकानी भयो । कुराकानीकै क्रममा मेरो आँखामा खुर्सानीको धुलो हालियो । अनि ममाथि खुकुरी प्रहार भयो ।

केहिबेर म बेहोस थिएँ । ब्युँझदा काठमाडौंको अस्पतालमा रहेछु । खुकुरी प्रहारपछि हेलिकोप्टर चार्टरदेखि अस्पताल खर्च समेत आफैंले व्यहोर्नुपर्यो । अहिले न्यायको लागि हिँडिरहेको छु । प्रमाणका लागि पक्राउ परेकाहरुको भिडियो हामीसँग सुरक्षित छ ।

यस विषयमा सञ्जय लामा उर्फ ‘झिंगे’ सँग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

टिप्पणीहरू