एमालेमा मिल्ने र जित्ने विधि के हो ?

एमालेमा मिल्ने र जित्ने विधि के हो ?

नेकपा एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिध्दान्त मानेको छ । मदन भण्डारीले कार्यक्रमिक रूपमा अघि सारेको जबजलाई आज उसले सिध्दान्तकै रूपमा अंगीकार गरेको छ । अझ अध्यक्ष केपी ओलीले त आफूलाई जबजको असली उत्तराधिकारीकै रूपमा प्रस्तुत गर्ने गर्नुहुन्छ ।

कम्युनिष्ट आन्दोलनको लोकतन्त्रीकरण जबजको मूल विशेषता हो । नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रतिस्पर्धामार्फत शक्ति आर्जन गर्ने बाटोमा जबजले नै हिँडाएको हो । जबजले बाह्य राजनीतिमा मात्र होइन,पार्टीको आन्तरिक जीवनमा पनि प्रतिस्पर्धालाई खुला गरेको छ ।

जबजका १४ विशेषता छन् । जसमध्ये प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्नु यसको मूल विशेषता हो । तर,जबजको त्यहि मान्यतामा हिँडेको एमालेमा आन्तरिक प्रतिष्पर्धालाई निमोठ्न खोजेको ओलीमाथि आरोप छ । पछिल्लो समय राष्ट्रिय महाधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा आन्तरिक प्रतिष्पर्धालाई रोक्न ओलीले औपचारिक निर्देशन नै दिन थालेपछि यस्ता आरोप बढी लाग्न थालेका हुन् ।

‘मिल्ने भनेको त बढी भोट आउनेलाई कम भोट आउनेले मान्ने भन्ने विधि न हो ! निरपेक्ष मिल्ने कुरा पनि हुन्छ र यत्रो पार्टीमा ?’

राष्ट्रिय महाधिवेशनमा भीम रावल र घनश्याम भुसालका कारण ओलीले खल्तीबाट निकालेका नाम अनुमोदन हुन पाएन । तथापि ‘हामीलाई हार्न देऊ’ भनेर भुसालले हात जोड्नुपर्यो । बाध्यतामा परेर गरिएको चुनावमा पनि ओलीको लिष्टमा नपरेकाहरुले उम्मेदवारी दिन आँट गर्न सकेनन् । जिल्ला अधिवेशनहरुमा पनि यहि रोग फैलिएको छ ।

‘आई लभ यू केपी बा’ भन्नेहरुले हाट्टहुट्ट गरेर ओलीकै शैलीमा खल्तीका नाम पढेर नेतृत्व छानेको गुनासो सुनिएको छ । निर्वाचन भएका एकाध जिल्लामा पनि केन्द्रीय योजनाअनुसार नै नतिजा निकालिएको चर्चा छ ।

समकालीन राजनीतिक दलहरुमा एमाले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टी मानिन्थ्यो । क्याडरबेस भने पनि एमाले सारत: मासबेस्ड पार्टी नै हो । ठूलो संगठन भएकाले त्यहाँ पदका आकांक्षीहरु धेरै हुनु पनि स्वभाविक हो । आन्तरिक प्रतिष्पर्धामार्फत नेतृत्व छनोटको विधि आत्मसात गर्नुको कारण पनि त्यहि हो ।

नवौँ महाधिवेशनमा पनि त्यहि विधिबाट नेता छानिएको थियो । त्यतिबेला ४५ मत बढी ल्याएर ओली मूल नेतृत्वमा उक्लिएसँगै पार्टीलाई एक कोषीय धारमा चलाउन खोजेको असन्तुष्ट नेताहरुको आरोप छ ।

‘हाम्रो पार्टी जनआधारित भएकाले आन्तरिक प्रतिष्पर्धा रोक्ने कुरा नै अस्वभाविक छ । जबजले पनि प्रतिष्पर्धाद्वारा आफूलाई श्रेष्ठता हासिल गर भनेको छ । अनि चुनाव गर्न पाइइँदैन मिलेर आउनुपर्छ भनेर हुन्छ’, एक नेता प्रश्न गर्छन्, ‘मिल्ने भनेको त बढी भोट आउनेलाई कम भोट आउनेले मान्ने भन्ने विधि न हो ! निरपेक्ष मिल्ने कुरा पनि हुन्छ र यत्रो पार्टीमा ?’

टिप्पणीहरू