भारतीयसँगका यस्ता भेटघाट, सुनियोजित कि संयोग मात्रै ?

भारतीयसँगका यस्ता भेटघाट, सुनियोजित कि संयोग मात्रै ?

अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानीमाथि छिमेकी भारतले एकपछि अर्को धावा बोल्दै आएको छ । उसले आफ्नो राज्य संयन्त्रलाई सक्रिय मात्रै बनाइरहेको छैन, नेपाली पक्षलाई समेत प्रभावमा पारी अतिक्रमित नेपाली भूमिमा रजाइँ गरिरहेको छ । सीमाको विषयलाई प्रभावित गर्नेगरी पछिल्ला भेटघाट, निर्णय, प्रचार र भ्रमणका श्रृंखला सुनियोजित रूपमा भइरहेका छन् । पुस दोस्रो सातायता दैनिक यस्ता गतिविधि एकपछि अर्को गरी सार्वजनिक भएका छन् ।

पुस १४ गते काठमाडौंमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडुसँग भारतीय दूतावासकी मिसन उपप्रमुख नम्ग्या सि खम्पाले भेटघाट गरेकी छन् । अतिक्रमित भूमिको दार्चुला गृहक्षेत्र भएका मन्त्रीसँग भारतीय कूटनीतिज्ञले भारतीय सहयोगका योजना र आपसी सहयोग तथा सम्बन्धबारे छलफल गरेको सार्वजनिक भएको छ । कानुनमन्त्रीको सचिवालयले यसबारे पुस १६ गतेको मितिमा प्रेस विज्ञप्ति नै निकालेको छ । यद्यपि, सामाजिक सञ्जालमा यो विज्ञप्ति पुस २२ गते मात्रै सार्वजनिक गरिएको छ ।

खम्पासहितको भारतीय टोलीले एक महिनाअघि मात्रै मंसिर १२ गते दार्चुला सदरमुकामको भ्रमण गरेको थियो । महाकाली किनारको दार्चुला सदरमुकाम क्षेत्रमा निर्मित दुइटा विद्यालय भवन उद्घाटन क्रममा खम्पाको टोली दार्चुला पुगेको हो । खम्पासँग दार्चुलाका स्थानीय कांग्रेस नेता–कार्यकर्ताले थप आर्थिक सहयता गर्न र नयाँ योजना बनाइदिन अनुरोध गरेको स्रोतले बतायो । दार्चुलाको स्थलगत भ्रमण गरी काठमाडौं फर्किएकी खम्पाले कानुनमन्त्री बडुसँग आगामी सहकार्यबारे समेत छलफल गरेको बुझिएको छ ।

महाकालीको भेगमा भारतीय सहयोग बढाएर सीमा अतिक्रमणको विषयलाई मत्थर पार्ने प्रयासमा भारतीय पक्ष छ । यही क्रममा दार्चुलामा हालसम्म आधा दर्जन विद्यालय भवन निर्माण गरिएको छ । दार्चुलामा मात्रै चारवटा एम्बुलेन्स दूतावासले वितरण गरेको छ भने खलंगाको महेन्द्र माविलाई स्कूल बस पनि उपहार दिएको छ । दार्चुलाको सीमाक्षेत्रमा थप सहायता दिने र नयाँ योजना सञ्चालन गर्नेबारे दूतावासले गृहकार्य गरिरहेको स्रोतले बतायो ।

तर यी दुईले यसरी भेटघाट गर्दा जयसिंह धामीको तुइन घटना र सीमा अतिक्रमणबारे भने कुनै छलफल भएको छैन । मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा यसबारे केही उल्लेख छैन । महाकाली नदी किनार हुँदै नेपालतर्फको सडक र पैदल बाटो निर्माणमा भारतीय पक्षबाट भइरहेको अवरोधबारे त झनै छलफल भएको छैन ।

खम्पाले काठमाडौंमा कानुनमन्त्रीसँग भेटघाट गरेको भोलिपल्ट दिल्लीमा देउवापत्नी आरजूले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भलाकुसारी गरेकी छन् । पुस २५ का लागि निर्धारित प्रधानमन्त्री देउवाको भ्रमणको पूर्वसन्ध्यामा भएको उक्त भेटघाटलाई अर्थपूर्ण मानिएको छ । यद्यपि, कोरोना संक्रमण बढेपछि देउवाको भ्रमण पुस २३ गते स्थगन गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण रद्द भएको जानकारी सार्वजनिक हुनुभन्दा केही घण्टाअगाडि मात्रै भारतको मन्त्रिपरिषद् बैठकले धारचुला र दार्चुला जोड्ने मोटरपुल निर्माणलाई स्वीकृत गरेको जानकारी सार्वजनिक गरियो । भारतीय विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जालबाट यसबारे जानकारी सार्वजनिक गरेपछि नेपाल र भारतका सञ्चारमाध्यममा मोटरपुल निर्माणको समाचारलाई प्राथमिकताका साथ प्रचार गरिएको छ । महाकाली नदी किनार डडेल्धुरा गृहजिल्ला भएका देउवालाई मोटरपुल स्वीकृतिको उपहारसहित स्वागत गर्ने भारतको तयारी देखियो ।

पुस १५ गते उत्तराखण्डको हल्द्वानीमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे पहिलोपटक मुख खोले । लिपुलेकसम्म सडक निर्माण गरेको र उक्त सडक विस्तार भइरहेको भन्दै छाती फुलाएर गर्व गरे । हल्द्वानीको कार्यक्रममा मोदीसँगै मञ्चमा अतिथि रहेका उत्तराखण्डका राज्यपाल गुरमित सिंह पुस १७ गते सेनाको विशेष हेलिकोप्टरबाट अतिक्रमित नेपाली भूमि गुञ्जी पुगे ।

गुञ्जीको सडक निर्माणमा संलग्न र सीमा सुरक्षाको नाममा तैनाथ सुरक्षाकर्मीसँग भेटघाट र छलफल गरे । विकट र टाढाको क्षेत्रमा भारतीय सुरक्षाफौजले प्रशंसनीय कार्य गरिरहेको भन्दै त्यही दिन सामाजिक सञ्जालमा आफ्नो विचार र फोटोसमेत सार्वजनिक गरे । राज्यपाल सिंह भारतीय सेनाको सेवानिवृत्त डेपुटी चिफसमेत हुन् । मोदी सरकारले डेढ महिनाअघि मात्रै सिंहलाई उत्तराखण्डको राज्यपाल बनाएको थियो ।

पुस २१ गते भारतका केन्द्रीय सडक परिवहनमन्त्री नितिश गडकरीले वनवासा नजिकैको खटिमा शहरमा आयोजित कार्यक्रममा एक वर्षभित्रै लिपुलेकसम्मको सडक निर्माण सम्पन्न गरिसक्ने बताएका छन् । सन् २०२२ भित्र सडक दुई लेनको बनाइने र कालोपत्रेसमेत सम्पन्न हुने उनले बताएका हुन् ।

यसअघि मंसिर २८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले देहरादूनमा आयोजित कार्यक्रममा नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको बताएका थिए । उत्तराखण्डसहित भारतका पाँच राज्यमा हुन गइरहेको चुनावलाई लक्ष्य गरी रक्षामन्त्री सिंहले यस्तो भनाइ सार्वजनिक गरेका हुन् । सैनिक परिवारको सहानुभूति बटुल्न र भारतीय फौजको मनोबल बढाउन पनि सिंहले नेपालप्रति सकारात्मक अभिव्यक्ति दिएको बुझिन्छ । कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको सीमाक्षेत्रमा गोरखा राइफल्स र कुमाउँ स्काउटको पल्टन तैनाथ गरिएको छ ।

सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीको मनोबल बढाउनका लागि पनि नेपालबारे राजनाथले मीठा शब्द बोलेका हुन् । यद्यपि, सीमाक्षेत्रमा भारतीय पक्षको व्यवहार नमीठो छ । भारतीय सुरक्षाकर्मीका साथै सरकारी संयन्त्रको नेपाली पक्षसँगको व्यवहार र रेस्पोन्स चित्तबुझ्दो नभएको दार्चुलास्थित सरकारी अधिकारी बताउँछन् ।

दार्चुला र धारचुला जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल बन्द हुने समय बढाउन नेपाली पक्षले पत्राचार गरेको दुई हप्ता भइसक्दा पनि भारतीय पक्षले यसबारे प्रतिउत्तर दिएको छैन । हरेक दिन बेलुकी ५ बजे झोलुंगे पुल बन्द हुने गरेकोमा नेपालको प्रशासनले पुल बन्द गर्ने समय बेलुकी ७ गते गर्न पत्राचार गरेको थियो । तर, अहिलेसम्म कुनै प्रतिउत्तर नआएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सीमाक्षेत्रमा भारतीय पक्षको व्यवहार यस्ता घटनाबाट प्रष्ट हुने गरेको एक सुरक्षा अधिकारीको भनाइ छ ।

नेपाली भूमि अतिक्रमण विषयलाई प्रभावित र मत्थर पार्न तथा आफ्नो वैधता देखाउन भारतले एकपछि अर्को श्रृंखलावद्ध प्रयास गरिरहेको छ । नेपाली पक्षसँग विभिन्न तहमा भेटघाट गर्ने, नेपाल र नेपालीलाई सुविधा थपिने गरी सहयोग गरिरहेको देखाउने प्रयास भारतबाट भइरहेको छ । पछिल्ला भेटघाटदेखि महाकालीमा मोटरपुल निर्माणको निर्णय र यसबारे गरिएको प्रचार यसैका उदाहरण हुन् ।

टिप्पणीहरू