पालिकाले सरकारको निर्णय नमान्ने, विद्यालय खोल्न निर्देशन

पालिकाले सरकारको निर्णय नमान्ने, विद्यालय खोल्न निर्देशन

महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने माघ ४ गतेदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ ।

संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले माघ ४ गतेपछि कुनै पनि शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो । यद्यपि, नगरपालिकाले पुस २८ देखि माघ ४ गतेसम्म वर्षे बिदा कट्टा हुनेगरि जाडो बिदा भने दिएको छ । यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालिकाले जनाएको छ ।‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भन्नुभयो । नगरपालिकाको निर्णयलाई शिक्षण संस्थाहरूले भने स्वागत गरेका छन् ।

महामारीको जोखिम आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् ।

टिप्पणीहरू