मन्त्रीले किन थाल थाप्नुभयो ?

मन्त्रीले किन थाल थाप्नुभयो ?

‘आफ्नै अगाडि ८४ व्यञ्जनसहित थरिथरिका परिकार छन् तर मन्त्री चाहिँ रित्तो थाल बोकेर अलिकति भात चाहियो भन्दै हिँडिरहेकी छन्,’ अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले मन्त्री रेणु यादवलक्षित यस्तो टिप्पणी गर्न थालेका छन् ।

अर्थका अधिकारीहरुले यसरी टिप्पणी गर्नुको पछाडिको कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हालैमात्र अर्थसँग थप साढे पाँच अर्ब बजेट माग गर्नु हो ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झण्डै १ सय ६० अर्ब रुपैयाँको बजेट पाएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उसले कूल पूँजीगततर्फ १० प्रतिशत पनि खर्च गर्न सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयलाई छुट्टाइएको मध्ये झण्डै १ सय ४५ अर्ब बजेट छोइएको छैन । अधिकांश ठूला आयोजनामा टेण्डर प्रक्रियासमेत अघि बढाउन सकिएको छैन ।

यस्तो स्थितिमा आफूसँगै भएको बजेट खर्च गर्न नसक्ने उल्टै अर्थसँग थप साढे ५ अर्ब बजेट माग गरिएपछि अर्थका अधिकारीहरुले आफ्नै थाल अगाडि प्रशस्त भोजन भए पनि रित्तो थाल बोकेर भात खोज्दै हिँडेको रुपमा टिप्पणी गरेका हुन् । मन्त्री रेणुले सप्तरी जिल्लाका सडक स्तरोन्नती, गृह जिल्लामा सञ्चालित केही बहुवर्षीय आयोजनामा थप रकम विनियोजन गरी स्रोत सुनिश्चित गर्नुका साथै शहरी सडकलगायत विविध १५ वटा योजनाका लागि झण्डै साढे ५ अर्ब थप गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गर्नुभएको छ ।

त्यसरी रकम माग गरिएको रकमबारे अघिल्लो साता बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले माग भएबमोजिमको बजेट दिन नसकिने, भौतिक मन्त्रालयकै बजेटबाट आन्तरिक व्यवस्थापन गरेर वा रकमान्तर गरेर हुन्छ उतैबाट मिलाउनु भन्दै सचिवस्तरीय निर्णय गरेर भौतिकमा पत्र पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू