अमेरिकी ड्रोन बीचमै अड्कियो

अमेरिकी ड्रोन बीचमै अड्कियो

नेपालका सशस्त्र प्रहरीलाई उत्तरका सुन्दर हिमाली भेगमा ड्रोनको तालिम दिने, त्यो पनि अमेरिकाले ! त्यो प्रस्ताव तालिमका लागि नै थियो कि अरु नै केही ? यस्तै प्रश्नहरू उठेपछि सरकारले तालिम नै रद्द गरिदिएको छ ।

जनवरी १०, अर्थात् अस्ति सोमबारदेखि शुरु हुनुपर्ने उक्त तालिमका लागि अमेरिकी सैन्य टोली काठमाडौं उड्ने तरखरमा थियो । तर, यताबाट परराष्ट्र मन्त्रालयको दबाबमा गृहले तत्काल तालिम सञ्चालन नगर्न दूतावासलाई पत्र लेख्यो । छिमेकी चीनलाई लक्ष्यित गर्दै विभिन्न मुलुकले नेपालमा विभिन्न गतिविधि सञ्चालन गर्र्दै आएको कसै–कसैको आशंका बेलाबखत पोखिने गरेको छ ।

त्यो क्रम पछिल्लो समयमा झन् बढेको भन्दै चीनसमेत चनाखो हुँदा तालिमका नाममा भित्रिन खोजेको अमेरिकी टोली तत्कालका लागि रोकिएको छ । उक्त तालिमका क्रममा एउटा ड्रोनलाई २० किलोमीटरसम्मको दूरीमा उडाउने योजना थियो । उत्तरका हिमाली भेगमा तालिम सञ्चालन गर्ने अमेरिकी प्रस्तावलाई गृह मन्त्रालयले स्वीकार नगर्ने सम्भावना देखेरै सशस्त्र मुख्यालयले पोखरालाई तालिमस्थलका रूपमा तय गरेको थियो ।

त्यसो नगर्दा अन्नपूर्ण हिमश्रृंखला हुँदै तिब्बती भूभागमा ड्रोन पुग्ने खतरा रहन्थ्यो । गृहमन्त्रालयका सहसचिव प्रदीप कोइराला भन्छन्– ‘खासमा त्यो हामीलाई चाहिने तालिम हो । तर, त्यसमा अलि बढि नै अमेरिकी जोड हुँदा रद्द हुन पुग्यो ।’

उता, सशस्त्रमा अन्यायपूर्वक कमाण्डर अदलीबदली चलिरहेको छ । महानिरीक्षकको सचिवालयले तयार पारेको सरुवा सूचीमा नाम र बदनाम हेरिएन, दाममात्रै हेरिएको भनी हल्चोक मुख्यालयमा असन्तुष्टि चुलिएको हो । अनेक काण्ड लागेका र गणबाट गणमै सरुवा भएका ‘भाग्यमानी’ थुप्रै छन् । यति ठूलो बद्मासी गरेपछि महानिरीक्षक शैलेन्द्र खनालले दोषचाहिँ गृहलाई लगाइरहेका छन् । ‘गृहले जे–जे ग¥यो, त्यही भयो, मैले केही गरेको छैन’, अफिस नगई शरद भवनबाटै केही असन्तुष्ट एसपीलाई उनले यस्तो जवाफ दिएका हुन् ।

हुन पनि अहिलेको सरुवामा कसैले तीनचोटि इञ्चार्ज पाए, कोहीचाहिँ गणपति नै नभई रिटायर्ड भएर घर जाँदैछन् । महानिरीक्षक शैलेन्द्रसँगै घर जाने चेससिंह थापा, गोपी चन्दहरू चार महिनाअघि एसपी भए ।

तर, चतुरहरूले तीनचोटि कमाण्ड पाउँदा उनीहरू रित्तो हात छन् । एसपी समिक महर्जनहरू भने बल्लबल्ल तर झापाको रिजर्भ गणमा परेका छन् । पाउनेले गणपति पाएको पायै, नपाउनेहरू रोएको रोयै हुने नियतिले अस्तव्यस्त बनेको सशस्त्रमा पछिल्लो सरुवाले जागिरप्रतिको आकर्षण नै समाप्त भएको एक पीडित एसपी बताउँछन् ।

उदाहरणका लागि एसएसपी दीपेन्द्र कुँवरमाथिको व्यवहार काफी छ । उनको बढुवाको योग्यता नपुग्दासम्म थुप्रै एसपीलाई महिनौँसम्म त्यसै थन्क्याएर राखियो । स्टाफ कलेजमा पारियो र बढुवाको बाटो खोलियो । बढुवा हुने उनको पालो नआएसम्म बढुवा खोलिएन । फलस्वरूप कतिपय एसपीहरू एसएसपीको फुली पनि थप्न नपाई घर गए भने उनी अब छिट्टै युएन मिशन पनि जाँदैछन् ।

टिप्पणीहरू