महिला विदेश जाने विषयमा अन्यथा निर्णय भएको छैन : अध्यागमन विभाग
नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने निर्णय हुन लागेको भन्ने खबर गलत भएको अध्यागमन विभागले स्पष्ट पारेको छ ।
विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा सिफारिस चाहिने निर्णय हुन लागेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै, ‘खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएको तर कुनै निर्णय नभएको तथा अनौपचारिक छलफलमा रहेको भन्दै भ्रममा नपर्न,’ आग्रह गरिएको छ ।
यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै विभागले यस्ता सार्वजनिक सरोकारका विषयहरूमा छलफल गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निश्कर्ष निकालिने बताएको छ ।
टिप्पणीहरू