एमाले इञ्चार्ज र सहइञ्चार्जका स्वकीय सचिव पराजित

एमाले इञ्चार्ज र सहइञ्चार्जका स्वकीय सचिव पराजित

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इञ्चार्ज झपट बोहरा र अर्का केन्द्रीय सदस्य एवम् अछाम जिल्ला सहइञ्चार्ज यज्ञ बोगटीका स्वकीय सचिव जिल्ला अधिवेशनमा पराजित भएका छन् ।

बोहराका स्वकीय सचिव आदर्श साउद सचिव पदमा र बोगटीका स्वकीय सचिव टोपबहादुर शाही उपसचिवमा पछि परेका हुन् । अधिवेशनमा माओवादीबाट नेकपा एमालेमा समाहित भएका विद्यार्थी नेता डिबी साउदलाई सचिवको उम्मेदवार बनाउने निश्चित भएर प्रचार प्रसारमा सक्रिय रहेकै बेला बोहराले आफ्ना स्वकीय सचिवलाई सचिवमा उठाएका थिए ।

स्वकीय सचिव रहेका आदर्शलाई पार्टी जिल्ला कमिटीको सचिवका रूपमा जसरी पनि जिताउनु पर्ने भन्दै उनले निर्वाचन तालिकालाई तीन दिन पछाडि धकेलेका थिए । अन्यथा आफ्नो राजनीति समाप्त हुने भन्दै इञ्चार्ज बोहराले अधिवेशनपछि निर्वाचन तालिका प्रभावित पार्ने कार्य गरेको अरुले आरोप लगाएका छन् ।

निर्वाचनमा आदर्शको विजयलाई कसैले रोक्न नसक्ने कुरामा विश्वस्त बनेपछि मात्रै बोहरा निर्वाचन प्रक्रियामा जान राजी भएको चर्चा छ । सदरमुकाम मंगलसेनस्थित दरबार होटललाई मुकाम बनाएका उनले आफ्ना विश्वासपात्र स्वकीय सचिवलाई आफ्नै समूहले अन्तरघात गरेर हराएको भन्दै चित्त दुखाएका छन् । त्यस्तै सह इञ्चार्ज र प्रतिनिधिसभा सदस्य बोगटीका स्वकीय सचिव टोपबहादुर शाहीले समेत उपसचिवमा पराजय भोग्नु परेको छ । साउद र शाहीको पराजयलाई इञ्चार्ज बोहरा र सहइञ्चार्ज बोगटीको पराजयको रूपमा व्याख्या गर्न थालिएको छ ।

नेकपा एमाले अछामको इञ्चार्ज तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका बोहराका स्वकीय सचिव आदर्श साउद १ सय ९५ मतले पराजित भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावल कालो टोपीले ४ सय ५३ मत प्राप्त गर्दा साउद २ सय ५८ मतमा सीमित भएका छन् ।

यस्तै उपसचिवमा केन्द्रीय सदस्य, जिल्ला सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीका स्वकीय सचिव टोपबहादुर शाही आठ मतले पराजित भएका छन् । प्रतिस्पर्धी प्रेमबहादुर महरसँग शाही आठ मतले पराजित भएका हुन् । महरले २ सय ५२ मत प्राप्त गर्दा शाहीले २ सय ४४ मत पाएका छन् ।

टिप्पणीहरू