राष्ट्र बैंकमा झापाको कुरो, डेपुटीद्वारा अन्तर्वार्तामा अन्टसन्ट

राष्ट्र बैंकमा झापाको कुरो, डेपुटीद्वारा अन्तर्वार्तामा अन्टसन्ट

नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरुबीच झापा र गैरझापाको विवादले उग्र रुप लिएको छ ।

झण्डै दुई वर्षअघि नियुक्त गभर्नर महाप्रसाद अधिकारी, अघिल्लो वर्ष फागुनमा नियुक्त डेपुटीहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे सबैजना झापाका भएपछि अन्य कार्यकारी र निर्देशकहरु असन्तुष्ट बनेका हुन् ।

यसअघिको सरकारले नियुक्त गरेका गभर्नर र डेपुटीहरुको सम्बन्धमा बैंक व्यवस्थापनले केही गर्न नसक्ने भएपछि कम्तिमा जनशक्ति व्यवस्थापन विभागबाट घिमिरेलाई बहिर्गमन गरेर अरु डेढ दर्जन कार्यकारीमध्येबाट एक जना ल्याइनुपर्ने भन्दै उनीहरुले शक्ति केन्द्रसमेत धाएका हुन् । यो विषय बैंकभित्रका नेपाली काँग्रेस र माओवादीनिकट कर्मचारी युनियनहरुले गभर्नर अधिकारीसमक्ष उठाइसकेको बताइन्छ ।

डेपुुटीले ‘यस्तो पनि आउँदैन ?’ भनेर विद्यालयमा शिक्षकले विद्यार्थीलाई हप्काएझैँ गरेपछि अन्य प्रतिनिधिहरुले मुखामुख गरेका थिए ।

घिमिरेले एमाले युनियनभित्रको एउटा पक्ष र पूर्वगभर्नर तथा अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाईं एवम् बैंकको पोखरा कार्यालयका निर्देशकको निर्देशनमा खटनपटन गरिएको भन्दै उनीहरुले वरिष्ठ कार्यकारी निर्देशकमध्येबाट एक जनालाई जनशक्ति विभागको जिम्मेवारी दिनुपर्ने आवाज उठाएका हुन् । यो आवाज उठाउँदै माओवादी युनियनका केही पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मा गुहारेका छन् भने काँग्रेस युनियनका (देउवा र कोइराला) दुबै समूहले नेतृत्वलाई समस्या सुनाइसकेको स्रोतको दाबी छ ।

राजनीतिक रुपमा पियनदेखि निर्देशक तहसम्मका कर्मचारीलाई छिमल्न थालेपछि घिमिरेप्रति केन्द्रीय बैंकका अधिकांश कर्मचारी एकातर्फ उभिएका हुन् । उनले कर्मचारीको बढुवा र सरुवामा एकतर्फी सिफारिस र निर्णय गरेपछि जनशक्ति विभागबाट धेरै जना निर्देशकले सरुवा मागिसकेका छन् । घिमिरेकै कारण बैंकको जनशक्ति व्यवस्थापन विभागमा असन्तुष्टी देखिएको विषयमा गभर्नरसमेत जानकार रहेको एक जना कार्यकारी निर्देशकले बताए ।

यतिखेर बैंकमा विगतमा झैं बढुवा र सरुवाको सिजन शुरु भएको छ । विरोधीलाई छानेर काखा र पाखा गर्न थालेपछि सबैभन्दा कनिष्ठ कार्यकारी निर्देशकलाई जनशक्तिबाट हटाउन माग गरिएको काँग्रेसको वित्तीय संस्था कर्मचारी संघ र माओवादीको राष्ट्रिय कर्मचारी संगठनका पदाधिकारीहरुले स्वीकारेका छन् ।

हालै उपनिर्देशक र निर्देशकहरुको काठमाडौं बाहिरका कार्यालयमा गरिएको सरुवामा गभर्नरलाई पत्तो नदिएर उनैले खेल खेलेको भन्दै कर्मचारीहरु रुष्ट भएका हुन् ।

त्यसैगरी कर्मचारीको बढुवाअघि गरिने प्राप्ताङ्क (गोप्य नम्बर) मोडरेसनमा उनले राम्रैसँग चलखेल गरेको आशंकामा अरुले जनशक्ति विभाग प्रमुख सरुवाको विषय चर्काएको स्रोतको दाबी छ ।

उनको निर्णय र निर्देशनका कारण केही महिनाअघि एमाले युनियनमा वर्षौैंदेखि रहेका झण्डै डेढ दर्जन कर्मचारीले माओवादी संगठन रोजेका थिए ।

यता हालै भएको निर्देशक तहका कर्मचारीको आन्तरिक प्रतियोगितामा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना विवादमा तानिएकी छन् । उपनिर्देशकबाट निर्देशकमा बढुवाको लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा उत्तिर्ण झण्डै आधा दर्जन कर्मचारीको अन्तर्वार्तामा तिम्सिनाले अर्थ न बर्थको प्रश्न सोधेपछि आयोगका प्रतिनिधिसमेत छक्क परेका हुन् ।

विशेषगरी नीतिगत तहमा बढुवा गर्न लागिएका कर्मचारीलाई नीतिगत प्रश्न सोध्नुपर्नेमा ढुंगानाले हाजिरी जवाफमा झैँ सामान्य ज्ञानको प्रश्न तेर्साएकी थिइन् । एक जना उम्मेदवारलाई उनले सम्बन्धित फाँट वा विभागको प्रश्न नसोधी पटक पटक सामान्य ज्ञान मात्रै सोधेको अन्तर्वार्तामा सहभागी एकजना प्रतिनिधि अधिकारीले बताए ।

डेपुटीको सोधनीपछि उम्मेदवारले पनि सामान्य ज्ञानबारे आफू जानकार नभएको भनेर दिएकाे जवाफ अरू प्रतिनिधिहरूलेसमेत सुने । त्यसपछि डेपुुटीले ‘यस्तो पनि आउँदैन ?’ भनेर विद्यालयमा शिक्षकले विद्यार्थीलाई हप्काएझैँ गरेपछि अन्य प्रतिनिधिहरुले मुखामुख गरेका थिए ।

सामान्यतयाः अन्तर्वार्तामा सहभागी उम्मेदवारलाई सोधिने प्रश्नको बारेमा हाकिमहरु पहिले नै स्पष्ट हुनुपर्ने लोकसेवा आयोग स्रोतले बताएको छ । त्यसैगरी कुनै पनि प्रश्न सोधेपछि अन्तर्वार्तामा उपस्थित उम्मेदवारलाई कोठाभित्रै हप्काउने वा माया गर्ने आशयले केही पनि बोल्न नपाइने प्रशासनिक मान्यतासमेत रहेको बताइन्छ ।

दुई वर्षअघि उपनिर्देशक तहको निम्ति यसैगरि लिइएको अन्तर्वार्तामा बैंककी एक जना महिला उम्मेदवारले पनि अन्तर्वार्ता लिनेको झाँको झारेकी थिइन् । उपनिर्देशक तहको अन्तर्वार्तामा खरिदार र मुखियालाई सोध्ने सरहको ५० दरको नोट कहिले प्रकाशित भएको भन्ने प्रश्न तेर्साएपछि उनले त्यतिबेला डेपुटीहरु उपस्थित अन्तर्वार्तामा ‘यस्तो पनि प्रश्न सोध्ने ?’ भनेर उल्टै प्रतिप्रश्न गरेकी थिइन् ।

अहिले सरुवा गरेर सुदूर पुर्याइएकी तिनले अन्तर्वार्तामा ‘उपनिर्देशकलाई उपनिर्देशक सरहको प्रश्न सोध्नुहोला, खरिदार वा मुखियाको होइन’ भनेपछि सबै तैं चुप मै चुप भएका थिए । हाकिमहरुसँग मुखमुखै लागेको भन्दै उनलाई अन्तर्वार्तामा अनुतीर्ण गराउन खोजे पनि लिखितमा अरुलेभन्दा धेरै नम्बर ल्याएकाले उतिर्ण गराउन बैंक व्यवस्थापन बाध्य भएको थियो ।

टिप्पणीहरू