भारतीय ज्वाईं ७ वर्षपछि पक्राउ

भारतीय ज्वाईं ७ वर्षपछि पक्राउ

छोरीलाई माइतीमै आएर हत्या गर्ने भारतीय ज्वाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि हत्या आरोपी ज्वाईंलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने जयराम चमारको छोरा मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार राति साढे १० बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले चमारलाई पक्राउ गरेको थियो ।

चमारलाई नेपाल भारत सीमास्थित यशोधरा गाउँपालिका ६ रङ्गपुरमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । चमारले २०७१ फागुन ३० गते ससुराली कृष्णनगर नगरपालिका ६ श्रीनगरमा श्रीमतीको हत्या गरी शव जलाएर फरार भएका थिए ।

मृतक किस्लावती चमारको माइती घरदेखि ३ सय मिटर टाढा अरहरको खेतमा जलेको अवस्थामा शव फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको शवका अंगहरु लतारेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हत्याको रहस्य खुलेको हो ।

प्रहरी उपरिक्षक दानबहादुर कार्कीले अपराध गरेर फरार भएका, लुकेका वा लुकाइएका अपराधीलाई खोज्ने कार्य आफु आएदेखि शुरु गरिएको बताउनुभयो । यो अभियानले निरन्तरता पाउने बताउँदै उहाँले अपराधमुक्त समाज स्थापनाको लागि समुदायस्तरबाट सहयोग भए प्रहरीले थप सफलता पाउने उहाँको भनाइ छ ।

टिप्पणीहरू