द्वन्द्व प्रभावितलाई निःशुल्क बीमा

द्वन्द्व प्रभावितलाई निःशुल्क बीमा

दाङको घोराही उपमहानगरपालिकाले जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ ।

उपमहानगरपालिकाले पहिलो चरणमा वडा नम्बर १४ र १७ मा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । आर्थिक वर्ष २०७८/०८९ मा बजेट व्यवस्थापन गरी सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई स्वास्थ्य बीमा शुरु गरिएको घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

वडामा रहेका द्वन्द्व पीडितहरूको तथ्यांक संकलन गरी बीमा गराउने काम भइरहेको छ । वडा नम्बर १४ मा रहेका १८ घरपरिवारका करिब एकसय जनाको बीमा गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष डाँगीले बताए ।

वडा नम्बर १७ मा ३० घर परिवारका एक सय ५० जनाको बीमा भइसकेको वडाध्यक्ष खुशीराम चौधरीले बताए । अन्य बाँकी भएका द्वन्द्वपीडितको तथ्यांक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् ।

बीमा गर्दा पाँच जना सदस्य भएको परिवारले तीन हजार पाँच सयका दरले रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पाँचजना भन्दा माथि प्रतिव्यक्ति थपिए सात सयका दरले बिमा रकम थप्दै जानुपर्ने हुन्छ । बीमा गरेबापत बिमितहरूले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउने बताइएको छ ।

टिप्पणीहरू