अछाम पुगेर पनि ओली र भीम भिड्दै

अछाम पुगेर पनि ओली र भीम भिड्दै

नेकपा एमालेको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भैरहेका छन् । ६१ जिल्लामा एकैसाथ अधिवेशन भएकोमा अधिकांश जिल्लामा सहमतिमै नेतृत्व चयन हुँदा केही जिल्लामा भने निर्वाचन भएको छ ।

एमालेले सहमतिमै नेतृत्व चयन गर्ने नीति बनाएको थियो । तर, केन्द्रमा अध्यक्ष केपी ओली र भीम रावलको अलग-अलग गुटको प्रभाव रहेका जिल्लाहरुमा निर्वाचन भएको हो । कतिपय जिल्लामा भने ओली गुटकै दुई पक्षबीच पनि प्रतिष्पर्धा भएको छ ।

केन्द्रीय नीति विपरित चुनावमा गएका केही जिल्लामा त प्यानलवद्ध प्रतिष्पर्धासमेत भएको छ । प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने नीतिअनुरु नै १०औँ महाधिवेशनमा प्यानल बनाउन निषेध गरिएको थियो ।

तर, केन्द्रीय राजनीतिको प्रभाव र स्थानीय अन्तरविरोध मिलाउन नसक्दा सुर्खेत, जाजरकोट, कैलाली, ताप्लेजुङ, लगायतका जिल्लामा दुई समूहबीच प्यानलवद्ध प्रतिस्पर्धा भएको हो ।

नेतृत्व चयनका लागि निर्वाचन भएकामध्ये अछामको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने अध्यक्ष केपी ओलीको प्रयासलाई खुला चुनौती दिएर अध्यक्षको उम्मेदवार बनेका भीम रावलको गृहजिल्ला भएकाले पनि अछामको चुनावी परिणामलाई चासोका साथ हेरिएको हो ।

एमालेको तत्कालीन माधव नेपाल समूहमा हुँदा सुदूरपश्चिम प्रदेशमा रावलको बलियो सांगठानिक पकड थियो । एमालेबाट बिद्रोह गरेर एकीकृत समाजवादी गठन गर्ने माधव नेपालको कदमलाई साथ नदिएर एमालेमै बसेका रावलसँग अहिले पुरानो सांगठानिक पकड बाँकी छैन । तथापि महाधिवेशनमा अध्यक्षको उमेद्वार बनेर संस्थापनलाई चुनौती दिएकाले पार्टीमा रावलको धेरथोर प्रभाव भने छ ।

अछाममा रावलले आफू निकट प्रकाश शाह प्यानलसहित अध्यक्षको उम्मेदवार बनाएका छन् । अध्यक्ष ओली समूहबाट चन्द्र बोहरा प्रतिस्पर्धामा छन् । बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन् । उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन् ।

बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन् । उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लिलाराज केसी बोहरा निकट मानिन्छन् । नयाँ नेतृत्वका लागि हिजो भएको मतदानको अहिले मतगणना भइरहेको छ । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएकाे हाे ।

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।

दश बुँदे पक्षधर भनिने तत्कालीन माधव नेपाल समूहका ‘१० भाइ’ निकट अधिकांश जिल्ला नेतालाई नेतृत्वबाट पाखा पारिएको भनिएका बेला रावलको गृहजिल्लाको प्रतिष्पर्धा राष्ट्रिय चासॊको विषयसमेत बनेको छ । दशौँ महाधिवेशनमा ‘१० भाइ’ समूहका अन्य नेता ओलीमा समाहित हुँदा संस्थापनलाई रावलले एक्लै चुनौती दिएका थिए । त्यसैले अछामको चुनावी परिणामले रावलको शक्ति परीक्षणसमेत गर्नेछ ।

टिप्पणीहरू